काठमाडौं – इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड नेपालमा आयोजना गरिने निर्णयबाट सरकार पछि हटेको छ । यसअघि ८ गते बसेको मन्त्रिपरिषदको बैठकले नेपालमा आइफा अवार्ड गर्न स्वीकृति दिएको भएपनि चौतर्फी विरोधपछि नेपाल सरकार पछि हटेकाे पर्यटन बाेर्डले जनाएकाे छ ।
आइफा अवार्ड हुँदा नेपाल सरकारले पैसा दिने या नदिने भन्ने विषयमा पक्ष विपक्षमा बहस जारी रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस विषयमा बुधबार बिहान बालुवाटारमा छलफल गरेका थिए ।
छलफलमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी खर्चमा आइफा गर्न नहुने भन्दै प्रचण्डले नै निर्णय फिर्ता लिन ओलीलाई भनेपछि सरकार आफ्नो निर्णयबाट पछि हट्ने निष्कर्षमा पुगेको हाे ।
त्यस्तै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पनि अवार्ड आयोजना नहुने जानकारी दिए ।
सरकारले आइफा अवार्ड आयोजना गर्न काठमाडौं महानगर र पर्यटन बोर्डलाई सहआयोजकको रुपमा स्वीकृति दिने निर्णय गरेको थियो । आयोजकको प्रस्तावपत्र नै सार्वजनिक भएपछि सरकारमाथि दबाब बढ्दै गएको थियो ।
नेकपाका वरिष्ठ नेता माधव नेपालले पनि सरकारको नेपालमा आइफा अवार्ड गर्ने निर्णयप्रति असन्तुष्टि जनाएका थिए । त्यस्तै स्थायी कमिटी सदस्य भीम रावलले पनि सार्वजनिक रुपमै यसको विरोध गर्दै आएका छन् ।
माधव नेपाल, भीम रावलसहित नेकपाकै बहुमत रहेको समितिले नै यस्तो निर्देशन दिएपछि प्रधानमन्त्री ओली दबाबमा परेका थिए ।




प्रतिक्रिया