इलाम – इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल अहिले यहाँका बासिन्दाको लागि घुमघाम गर्ने ठाउँ बनेको छ । विमानस्थलमा सेल्फी खिच्ने र टिकटक भिडियो बनाउनेहरु बाक्लै भेटिन्छन् । विमानस्थल घुमघाम गरेर दिन कटाउने अनि सेल्फी स्पर्ट बनेको छ ।
फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको निर्माण पूरा भएको पाँच महिना बितिसक्यो । लामो समयको प्रतिक्षापछि निर्माण पूरा भए पनि उडान सुरु हुन सकेको छैन ।
फाल्गुनन्द सुकिलुम्बा विमानस्थल निर्माण प्रक्रिया थालेको २० वर्षमा मात्रै निर्माण पूरा भएको हो । २०५८ मै विमानस्थल निर्माणको प्रक्रिया थालिएको थियो । विमानस्थल बनाउने प्रक्रिया थालेको १० वर्षपछि २०६८ सालमा मात्रै निर्माणको काम थालियो । निर्माण थालेको १० वर्षपछि २०७८ मा मात्रै विमानस्थल निर्माण पूरा भएको हो । यत्तिको लामो समय पर्खिएर पूरा भएको विमानस्थलमा उडान नहुँदा स्थानीय निराश भएका हुन् ।
विमानस्थलमा गत वैशाखमै दोस्रो पटक परीक्षण उडान गरेर नियमित उडान गर्ने तयारी थियो । तर, हालसम्म उडान निश्चित भएको छैन । उडान सुरु भए इलामको पर्यटनको विकासमा पनि सहयोग पुग्नेछ ।
इलाम पर्यटकीय क्षेत्र भए पनि लामो यात्रा गर्नुपर्ने कारण पर्यटकले इलाम आउन चाहना नगर्ने पौडेलको भनाइ । सडक यात्राको लागि लामो दूरीमा पर्ने इलाममा निर्माण भएको विमानस्थल सञ्चालनमा नहुँदा पर्यटनमा असर पुगिरहेको छ ।
विमानस्थल सञ्चालन गर्न इलाम नगरपालिकाले पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई ताकेता गरिरहेको इलाम नगरपालिकाका मेयर महेश बस्नेतले बताए ।
एयरलाइन्स कम्पनीले उडानका लागि निश्चित समय साझेदारीको अपेक्षा गरेको बस्नेतले बताए । एयरलाइन्सले फाल्गुनन्द सुकिलुम्बा विमानस्थबाट उडान दिगो नहुञ्जेलसम्मका लागि साझेदारीको अपेक्षा गरेकाले सरोकारवालासँग सुझाव माग गरेको बस्नेतले जानकारी दिए ।
विमानस्थलको धावनमार्ग सँगै ट्याक्सी र हवाई पार्कीङसमेत कालोपत्रे भइसकेको छ । आठ करोड ४० लाखको लागतमा धावनमार्गको कालोपत्रे गरिएको हो । धावनमार्ग, कन्ट्रोल टावरसहित ट्याक्सी र हवाइ पार्किङको निर्माणको ठेक्का पाएको आशिष आशीर्वाद स्वामीनारायण जेभीले काम पूरा गरेर नागरिक उडढ्यन प्राधिकरणलाई हस्तान्तरण गरिसकेको छ ।
सुकिलुम्काको एउटा बस्ती नै उठाएर ३ सय २८ रोपनी जमिन अधिग्रहण गरेर विमानस्थल बनाइएको हो । ६७० मिटर लम्बाइ र २० मिटर चौडाइ भएको विमानस्थलबाट थोरै यात्रु बोक्ने विमानले उडान भर्न सक्छ । फाल्गुनन्द सुकिलम्बा विमानस्थलबाट हवाई सेवा सुरु भए इलाम, पाँचथरसहित भारतको, दार्जिलिङ, सिक्किम लगायतका बासिन्दालाई हवाइ यात्राका लागि सहज हुने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया