इलाम १ मा पुनः मतदान गराउन कानुनी उपचार खोज्छाैँ : माधव नेपाल


काठमाण्डु – नेकपा एकीकृत समाजवादीले इलाम क्षेत्र नम्बर १ मा पुनः मतदानको मागसहित कानुनी उपचार खोज्ने भएको छ ।

एमालेका उम्मेदवार महेश बस्नेतसँग एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल पराजित हुने गरी आएको नतिजालाई अस्वीकार गर्दै पुनः मतदानको मागसहित सो पार्टीले कानुनी उपचार खोज्ने भएको हो ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक अन्तिम चरणमा रहेका बेला मंगलबार पार्टी मुख्यालयमा एकीकृत समाजवादीको सचिवालय बैठक बसेको थियो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले बैठकमा इलाममा पुनः मतदानको लागि कानुनी बाटोमा जानेबारेमा छलफल भएको जानकारी दिएका हुन् ।

नेता खनालले चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका बेला पार्टीभित्र पनि पुनः निर्वाचनको माग गर्दै कानुनी उपचार खोज्ने विषयमा छलफल सुरु भएको हो ।

साथै बैठकमा निर्वाचनको समीक्षासहित गठबन्धनको निरन्तरता, दलहरुबीच शक्ति बाँडफाँट गर्ने विषयमा आन्तरिक रुपमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement