काठमाण्डु – मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलाममा २५ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । दुई निर्वाचन क्षेत्रमध्ये १ मा ११ जना र २ मा १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
क्षेत्र नम्बर १ मा नेकपा एमाले र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा हुने भएको छ । एमालेले त्यहाँ महेश बस्नेतलाई उम्मेदवार बनाएको छ । यता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल उम्मेदवार रहेका छन् ।
सोही क्षेत्रमा जसपाबाट कमल कुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीले तोया नाथ शर्मा सापकोटा, मंगोल नेशनल अर्गनाइजेसनले बुद्ध लाल मेचे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले जीत कुमार मुखिया, राष्ट्रिय जनमुक्ति पार्टीले पदम बहादुर लिम्बु, नेपाली कांग्रेस (बीपी) ले गणेस प्रसाद पौडेल उम्मेदवार बनेका छन् । त्यसैगरी स्वतन्त्रबाट बिक्रम पाण्डे, नेत्र प्रसाद रेग्मी र निमा तेन्जीङ शेर्पाले उम्मेदवारी दिएका छन् ।
यता क्षेत्र नम्बर २ मा एमाले र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । एमालेले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले डम्बर बहादुर खड्कालाई उठाएको छ । अघिल्लो निर्वाचनमा विजयी भएका नेम्वाङलाई यो निर्वाचनमा खड्काले कडा टक्कर दिने आंकलन गरिएको छ ।
सोही क्षेत्रमा जसपाले याम प्रसाद लिम्बू, राप्रपाले गणेश प्रसाद दुलाल, लोसपाले निर मणि माङमु लिम्बु, मंगोल नेशनल अर्गनाइजेसनले मनि बहादुर लिम्वू (पापो), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गोविन्द सिंह लिम्वू, राजपाले खड्ग प्रसाद पालुंवा, नेपाली कांग्रेस (बीपी) ले डाक प्रसाद गौतम, सामाजिक लोकतान्त्रिक पार्टीले तिलक बहादुर मगर, नेपाल कम्युनिष्ट पार्टी याक बहादुर लिम्वू, राष्ट्रिय स्वतन्त्र पार्टीले प्रकाश सापकोटालाई उम्मेदवार बताएको छ ।
त्यसैगरी स्वतन्त्रबाट दिपेश बोहोरा र जुनु माखिमले उम्मेदवारी दिएका छन् ।




प्रतिक्रिया