एजेन्सी – पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत युद्धोन्मादले ग्रसित भएको बताएका छन् । ‘फाइनैन्शियल टाइम्स’ लाई दिएको अन्तर्वार्तामा भारत ’युद्धोन्माद’ बाट ग्रसित रहेको बताएका हुन् ।
भारतमा अप्रिल महिनादेखि आम चुनाव हुँदैछ। प्रधानमन्त्री खानले भने,‘छिमेकी देशमा चुनाव छ, त्यसैले एक अर्को टकरावको आशंका छ।’ आफू भारतमा चुनाव भइन्जेल चिन्तित भएको उनले बताए। उनले भने,‘म महशुस गरिरहेको छु कि फेरि केही हुनसक्छ।’ भारत र पाकिस्तान दुवै परमाणु शक्ति सम्पन्न देश हुन् र दुवै देशबिच अहिले पछिल्लो एक दशककै सबैभन्दा बढि तनावको स्थिति बनेको छ ।
यो अन्तर्वार्तामा खानले पाकिस्तानको अर्थव्यवस्था मजबुद रहेको बताउँदै आफ्नो देशलाई चीनको क्लान्इट बन्न नदिने बताए । इमरान खानले यो पनि भने कि पाकिस्तानको आतंकवादी संगठन जैश–ए–मोहम्मदसँग पाकिस्तानको कुनै सम्बन्ध छैन । जैश-ए-मोहम्मदले नै भारत प्रशासित कश्मीरको पुलवामा जिल्लामा ४० सुरक्षाकर्मीको ज्यान गएको हमला घटनाको जिम्मेवारी लिएको थियो । ६६ वर्षका इमरान अघिल्लो वर्षको अगष्टमा सत्तामा आएका थिए । खानले पाकिस्तानमा आतंकवादी संगठन रहेको कुराको पनि इनकार गरेका छन् ।
उनले भनेका छन् कि ‘सत्तामा आएलगत्तै आतंकवादी संगठनका विरुद्ध थुप्रै सफल अप्रेशन चलाइएको छ ।’ खानले भनेका छन्, ‘ यो नयाँ पाकिस्तान हो जहाँ आतंकवादी गतिविधिका लागि कुनै ठाउँ छैन ।’ १४ फब्रुअरीमा भारतीय सुरक्षा बलमाथि भएको आत्मघाती हमलापछि दुवै देशमा तनाव बढेको छ । अहिलेसम्म भारतको नीति कुनै हमला भएपछि थप हमलाबाट बच्ने हुन्थ्यो तर पुलवामा हमलापछि भारतले सीमामा कारवाही गर्ने रणनीति अपनाएको छ ।
यस पटक पाकिस्तानले पनि भारतको एयरस्ट्राइकको केही घण्टामै जवाफ दिएको थियो । पाकिस्तानले भारतीय वायुसेनाका एक पाइलटलाई नियन्त्रणमा लिएको थियो । पछि उनलाई सकुशल रिहा गरिएको थियो । इमरान खानले भने, ‘जब पुलवामामा आत्मघाती हमला भयो मलाई लाग्यो कि मोदी सरकार युद्धोन्मादको सन्देश दिन्छन् । भारतीय नागरिकले थाहा पाउनुपर्छ कि यो सब चुनाव जित्नका लागि भइरहेको छ । सत्य हो कि यो उपमहाद्वीपमा वास्तविक मुद्दा अरु नै केही छ ।’




प्रतिक्रिया