जाकार्तामा निर्वाचन परिणाम घोषणापछि हिंसात्मक प्रदर्शन, कैयौँ प्रदर्शनकारी पक्राउ


एजेन्सी – इन्डोनेसियाको राजधानी जाकार्तामा मंगलबार विरोध प्रर्दशन भएका छन् । इन्डोनेशियामा राष्ट्रपति जोको विडोडो पुन: निर्वा्चित भएपछि हिंसात्मक प्रदर्शनहरू भएका र कैयौँ प्रदर्शनकारीहरू पक्राउ परेका हुन् ।

प्रदर्शनकारीहरूले गाडीमा आगजनी गरेर प्रहरीलाई लक्षित गरी स-साना विस्फोटक पदार्थ फ्याँके । त्यसपछि प्रहरीले भिडलाई तितरवितर पार्न अश्रुग्यास प्रहार गरेको थियो । निर्वाचन परिणाम आउँदा विडोडोले आफ्ना चिरकालीन प्रतिस्पर्धी प्राबोवो सुबिआन्तोलाई पराजित गरेका थिए ।

जाकार्ताका गभर्नरलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार पछिल्लो हिंसामा परी छ जनाको ज्यान गएको छ भने २०० जना घाइते भएका छन् । इन्डोनेशियाको निर्वाचन आयोगका मङ्गलवार विडोडोले ५५.५ प्रतिशत मत हासिल गर्दै राष्ट्रपति निर्वा्चित भएको पुष्टि गरेको हो । मत परिणामअनुसार प्राबोवो राष्ट्रपति विडोडोसँग पराजित हुन पुगे ।

एप्रिल १७ तारिखमा भएको मतदानमा १९ करोड २० लाख मतदाता मतदान गर्न योग्य थिए। स्थानीय टेलिभिजनले महानगरका विभिन्न भागमा प्रहरी र प्रदर्शनकारीबीच तनाव बढ्न थालेका भिडिओहरू प्रसारण गरे । प्रहरी प्रवक्ता देदी प्रासेत्योले रोएटर्स समाचारसंस्थालाई बताएअनुसार, हुलदङ्गामा संलग्न हुने २० जनाभन्दा बढी व्यक्तिहरू पक्राउ परेका छन् । उनले प्रहरीले गोली नबोकेको बताए ।

सन् २०१४ मा विडोडो निर्वा्चित भएपछि प्राबोवोले इन्डोनेशियाको संवैधानिक अदालतमा निर्वाचन परिणामविरुद्ध चुनौती दिएका थिए । तर प्राबोवोले मुद्दा हारे । धार्मिक मुद्दाले महत्त्वपूर्ण भूमिका खेलेको यो निर्वाचन स्वतन्त्र र निष्पक्ष भएको स्वतन्त्र पर्यवेक्षकहरूको भनाइ छ । विडोडोले ५५.५ प्रतिशत मत हासिल गरेको र प्राबोवोले ४४.५ मत आफ्नो पोल्टामा पारेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement