स्वतन्त्रमा क्रेज बढ्दो, राजनीतिक दललाई २ हजार जनाको चुनौती

स्वतन्त्रमा क्रेज बढ्दो, राजनीतिक दललाई २ हजार जनाको चुनौती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि १ हजार ९ सय ५७ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । प्रतिनिधिसभातर्फ ८ सय ६७  र प्रदेशसभामा १ हजार ९० स्वतन्त्र उम्मेदवार प्रत्यक्ष चुनावी मैदानमा उत्रिएका हुन् ।

अघिललो ०७४ निर्वाचनको भन्दा यसपटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारको संख्या एकतिहाइले बढेको छ । २०७४ को संसदीय निर्वाचनमा यो संख्या १ हजार ३ सय १७ थियो ।

अघिल्लो पटक प्रतिनिधिसभामा ५ सय २ र प्रदेशसभामा ८ सय १५ स्वतन्त्र उम्मेदवार थिए । तीमध्ये प्रतिनिधिसभामा हुम्लाबाट छक्कबहादुर लामा मात्रै विजयी भएका थिए । यस पटक भने केही स्वतन्त्र उम्मेदवारहरू प्रभावशाली उपस्थितिसहित चुनावी मैदानमा छन् । पछिल्लो समय स्वतन्त्रप्रति जनताको क्रेज बढ्दै गएको पाइन्छ ।

खासगरि गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन हासिल गरेको परिणामले स्वतन्त्र उम्मेदवारीमा आकर्षण बढेको हो । उक्त निर्वाचनमा वडा सदस्यदेखि पालिका प्रमुखसम्म ३ सय ८४ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

काठमाण्डु महानगरको प्रमुखमा बालेन्द्र शाहसहित १२ स्थानीय तहको प्रमुख स्वतन्त्र (बागीसहित) उम्मेदवारले जितेका छन् । धरान उपमहानगरमा हर्कबहादुर राई, जनकपुरधाम उपमहानगरमा मनोज साह र धनगढी उपमहानगरमा गोपालबहादुर हमाल स्वतन्त्रबाट प्रमुखमा विजयी भएका थिए ।

निर्वाचन आयोगका अनुसार गत स्थानीय तह निर्वाचनमा १२ प्रमुख, ४ उपप्रमुख, १ सय ३६ वडाध्यक्ष र २ सय ३२ वडा सदस्यमा स्वतन्त्रले जितेका छन् । पछिल्लो समय स्वतन्त्रहरूले नेटवर्किङ गरेरै चुनावमा होमिएका छन् ।

एमालेले टिकट नदिएपछि पार्टी परित्याग गरेका घनश्याम भुसाल रूपन्देही–१ बाट स्वतन्त्र उम्मेदवार छन् । सत्ता गठबन्धनमा माओवादीको भागमा परेको उक्त क्षेत्रमा भुसाललाई गठबन्धनको समर्थन छ । एमालेको टिकट त्यागेर प्रभु साहले रौतहट–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

त्यस्तै चितवन–३ मा गठबन्धनका उम्मेदवारविरुद्ध बागी लडेका कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला पनि चर्चित उम्मेदवार हुन् । स्वतन्त्रतर्फ महिलाको संख्या भने न्यून छ । यस पटक प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका ८ सय ६७ मध्ये ७७ जना महिला छन् ।

प्रदेशसभाका १ हजार ९० स्वतन्त्र उम्मेदवारमध्ये महिला ९८ जना छन् । ०७४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ ५ सय २ जना स्वतन्त्र उम्मेदवारमध्ये ४० र प्रदेशसभातर्फ ८ सय १५ स्वतन्त्र उम्मेदवारमध्ये ५० जना महिला थिए ।