यसरी हुन्छ बार्षिक ६८ करोडको इन्धन चोरी

यसरी हुन्छ बार्षिक ६८ करोडको इन्धन चोरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विगतका वर्षमा ढुवानीका क्रममा वार्षिक कम्तीमा ६८ करोड रुपैयाँबराबरको इन्धन चुहावट (चोरी) भएको तथ्य पुष्टि भएको छ। नेपाल आयल निगमले इन्धन ढुवानीमा ‘सेक्युरिटी लकिङ सिस्टम’ प्रयोगमा ल्याउनुभन्दा अघि वार्षिक ६८ करोड रुपैयाँबराबरको इन्धन चुहावट भएको पुष्टि भएको हो।

विगतमा इन्धन ढुवानीक्रममा ट्यांकरचालकले बीच बाटोमा तेल चोरी गरेको कारण पूरा परिणाम नआएको निगम र पम्प सञ्चालकले बताउँदै आएका थिए। निगमले ढुवानीक्रममा हुने तेल चोरी नियन्त्रण गर्न सबै ट्यांकरमा ‘सेक्युरिटी लकिङ सिस्टम’ जडान गरेपछि इन्धन चुहावट (चोरी) नियन्त्रण भएको छ। यसै आधारमा विगतमा वार्षिक ६८ करोग रुपैयाँबराबरको इन्धन चोरी भएको रहस्य खुलेको हो।

इन्धन बोक्ने ट्यांकर ‘सेक्युरिटी लकिङ सिस्टम’ जडान भएपछि एभरेजमा वार्षिक करिब ६८ करोड रुपैयाँ बचत हुने भएको छ । ट्यांकरमा यो सिस्टम जडान गरेपछि ढुवानीमा रिफर्म नै भएको छ।
इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट ढुवानी गर्ने ट्यांकरमा ‘लकिङ सिस्टम’ जडान गरेपछि प्रतिट्यांकर करिब ५० लिटर तेल बचत भएको निगमले जनाएको छ। विगतमा भन्दा अहिले प्रतिट्यांकर ५० लिटर तेल धेरै आएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए। ‘हरेक ट्यांकरमा विगतमा भन्दा धेरै तेल आएको छ,’ उनले भने, ‘एभरेजमा हरेक ट्यांकरमा ५० लिटर तेल बचत भएको हाम्रो निष्कर्ष छ।’

आइओसीबाट दैनिक चार सय ट्यांकरले पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मटीतेल, हवाई इन्धन) ढुवानी गर्दै आएका छन्। एउटा ट्यांकरबाट ५० लिटर बचत हुँदा दैनिक २० हजार लिटर तेल चुहावट हुनबाट रोकिएको छ। यसबाट एक महिनामै ६ लाख लिटर पेट्रोलियम पदार्थ जोगिन्छ । पेट्रोल, डिजेल, मटीतेल, हवाई इन्धनको फरक–फरक मूल्य भए पनि प्रतिलिटर सरदर ९५ रुपैयाँले हिसाब गर्दा मासिक पाँच करोड ५० लाख रुपैयाँको तेल चुहावट हुनबाट रोकिएको छ। यसै आधारमा वार्षिक ६८ करोड ४० लाख रुपैयाँ निगमलाई कम व्ययभार परेको निगमले जनाएको छ। ‘सेक्युरिटी लकिङ सिस्टम जडान भएपछि एभरेजमा वार्षिक करिब ६८ करोड रुपैयाँ बचत हुने भएको छ,’ भट्टराईले भने, ‘ट्यांकरमा यो सिस्टम जडान गरेपछि ढुवानीमा रिफर्म नै भएको छ।’

निगमले आइओसीका विभिन्न रिफाइनरीबाट इन्धन ढुवानी गर्ने करिब ९५ प्रतिशत ट्यांकरमा यो सिस्टम जडान गरेको छ । मुलुकभर करिब १९ सय ट्यांकरले इन्धन ढुवानी गर्दै आएका छन्। यो जडानसँगै डिपोमा हुने गरेको प्राविधिक नोक्सानीमा पनि कमी आएको छ।

तेल चोरी गर्दै आएका ट्यांकरचालक सेक्युरिटी लकिङ सिस्टमको विरोधमा उत्रिएका थिए। निगम आफ्नो अडानबाट पछि नहटेपछि चालक बाध्य भएर यो प्रविधि कार्यान्वयनमा ल्याउन सहमत भएका थिए।  आजको नागरीक दैनिकमा समाचार छ ।