भारतमा मोदीविरुद्ध प्रधानमन्त्री उम्मेदवार को ? नीतिशलाई रोक्न लालूको जालझेल !

भारतमा मोदीविरुद्ध प्रधानमन्त्री उम्मेदवार को ? नीतिशलाई रोक्न लालूको जालझेल !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतमा आगामी वर्ष लोकसभा चुनाव हुँदैछ । चुनावको पूर्व सन्ध्यामा सत्तापक्ष र प्रतिपक्ष मोर्चाबन्दीमा लागेका छन् ।

सत्तापक्षबाट प्रधानमन्त्री नरेन्द्र मोदी नै पुनः प्रधानमन्त्रीका रूपमा अगाडि सारिने भएका छन् भने विपक्षी गठबन्धनमा प्रधानमन्त्रीको उम्मेदवार तय हुन सकेको छैन ।

विपक्षी आईएनडीआईए गठबन्धनमा कांग्रेस नेता राहुल गान्धी र बिहारका मुख्यमन्त्री नीतिश कुमारलाई सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ ।

प्रधानमन्त्री मोदीलाई रोक्न भारतीय कांग्रेसले अरुलाई नै प्रधानमन्त्री बनाउन तयार रहेको बेला मुख्यमन्त्री नीतिशलाई बलियो उम्मेदवारका रूपमा हेरिएको थियो । अगस्त ३१ देखि सेप्टेम्बर १ सम्म मुम्बईमा हुने गठबन्धनको तेस्रो बैठकमा गठबन्धनको संयोजक तोकिने अनुमान थियो । संयोजकमा नीतिशको नाम चर्चामा थियो । तर सोमवार मुख्यमन्त्री नीतिशले गठबन्धनको संयोजक हुने इच्छा नभएको अभिव्यक्ति दिएका छन् ।

कांग्रेस नेताहरूले राहुललाई प्रधानमन्त्री उम्मेदवार बनाउनुपर्ने चर्चा गरिरहेका बेला मन्त्री श्रवण कुमार र जमा खानले नीतिश कुमारको पक्षमा वकालत गरेका थिए । तर अन्तिममा नीतिशले आफू संयोजक नहुने बताएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार बिहारकै पूर्व मुख्यमन्त्री लालू यादवले जालझेल गरेका कारण नीतिश संयोजकको दाबीबाट पछि हटेका हुन् । नीतिश गठबन्धनको संयोजक हुने देखेपछि लालूले गठबन्धनमा नयाँ प्रस्ताव ल्याएका छन्, जसअनुसार छुट्टाछुट्टै क्षेत्रमा विभिन्न संयोजक तोकिनुपर्नेछ ।

गठबन्धनको राष्ट्रिय संयोजक हुने अवस्थामा दाबी पेश गरेका नीतिशले कुनै एउटा क्षेत्रको मात्रै संयोजक भएर बस्न रुचि नदेखाएको बताइएको छ । एकै राष्ट्रिय संयोजक मात्रै हुँदा उसैलाई भोलि प्रधानमन्त्रीको दाबेदार मानिने भएकाले लालूले नीतिशलाई रोक्न धेरै संयोजक हुने प्रस्ताव ल्याएको बताइन्छ । पछिल्लो समय लालू यादव विभिन्न भ्रष्टाचार मुद्दामा मुछिएर सक्रिय राजनीतिबाट टाढा छन् ।

तैपनि विपक्षी गठबन्धनको बैठकले के निर्णय गर्छ ? हेर्न बाँकी छ ।