भारतीय दूतावासको सहयोगमा निर्मित त्रिभुवन माविको भवन उद्घाटन

भारतीय दूतावासको सहयोगमा निर्मित त्रिभुवन माविको भवन उद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको २ करोड ७५ लाखको आर्थिक सहयोगमा निर्माण गरिएको नवलपरासी पूर्वको बुलिङटार गाउँपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय भवनको शुक्रबार उद्घाटन गरिएको छ ।

प्रतिनिधिसभा सांसद डा. शशांक कोइराला, जिल्ला समन्वय समिति, नवलपरासी पश्चिमका प्रमुख भगौती यादव, बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी तथा काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव डा. साहिल कुमारले संयुक्त रूपमा भवन उद्घाटन गरे ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीको पनि उपस्थिति थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोगमा विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै कक्षाकोठा, परीक्षा, प्रधानाध्यापक, कर्मचारी र प्रशासनका लागि कोठा, जीवविज्ञान, वनस्पति विज्ञान, भौतिक विज्ञान र रसायन विज्ञानका लागि आवश्यक प्रयोगशाला, पुस्तकालय, कम्प्युटर, छात्रछात्राका लागि छुट्टाछुट्टै शौचालय सहितको विद्यालय भवनको निर्माणमा गरिएको छ ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको छ । परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति, नवलपरासी पश्चिममार्फत गरिएको थियो ।

कार्यक्रममा बोल्दै सांसद, जिल्ला समन्वय समिति, नवलपरासीका प्रमुख, बुलिङटार गाउँपालिकाका अध्यक्ष, राजनीतिक प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका छन् ।

त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयको नयाँ भवन उपयोगी हुनुका साथै सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्ने भारतीय दूतावासले अपेक्षा गरेको छ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ भने ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यीमध्ये नवलपरासी पूर्व जिल्लाका ३ वटा परियोजनासहित गण्डकी प्रदेशमा ५९ वटा परियोजना रहेका छन् ।

भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहारस्वरूप प्रदान गरिसकेको छ । त्यसमध्ये नवलपरासी पूर्व जिल्लालाई प्रदान गरिएको ९ वटा एम्बुलेन्स र १० वटा स्कूल बससहित गण्डकी प्रदेशलाई ११९ वटा एम्बुलेन्स र ४० वटा स्कूल बस उपहार स्वरूप प्रदान गरिएको छ ।

भारतीय दूतावासद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ, ‘नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेषगरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।’