नेपालबाट तस्करी गरेको १६ करोडको लागूऔषध भारतीय प्रहरीद्वारा बरामद : मिडिया

नेपालबाट तस्करी गरेको १६ करोडको लागूऔषध भारतीय प्रहरीद्वारा बरामद : मिडिया


काठमाण्डु – भारतको उत्तर प्रदेशस्थित खिरी जिल्लामा प्रहरीले झण्डै १६ करोड रुपैयाँ बरामदको लागूऔषध बरामद गरेको दाबी गरेको छ ।

भारतीय सञ्चारमाध्यम आजतकको अनलाइन संस्करणले सैधरी गाउँको निजी अस्पतालबाट लागूऔषध बरामद गरिएको समाचार लेखेको छ ।

शनिबार त्यो निजी अस्पतालबाट १ किलोग्राम ‘मेफा ड्रन’ (एमडी) नामक लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ, जसको बजार मूल्य १६ करोड रुपैयाँ रहेको छ ।

खिरी प्रहरीका एसपी संकल्प शर्माले लागूऔषधसहित राकेश विश्वकर्मा र विक्रम सिंह गरी २ जनालाई पक्राउ गरिएको छ । ‘लागूऔषध तस्करीसँग जोडिएका अर्का व्यक्ति अस्पताल सञ्चालक डा. खालिद खान हाल फरार छन्, उनको खोजी भइरहेको छ,’ उनले भने ।

प्रहरीलाई उदृत गर्दै आजतकले लेखेको समाचारअनुसार दुवै आरोपीले लागूऔषध नेपालबाट तस्करी गरेर ल्याएको बयान दिएका छन् । ‘नेपालमा सस्तो पाइने लागूऔषध उत्तर प्रदेशमा ल्याएर महंगोमा बेच्ने गर्दथे । नेपालमा यो ड्रग्स सस्तो पाइने रहेछ,’ समाचारमा उल्लेख छ ।

लागूऔषध तस्करीको अन्तर्राष्ट्रिय सञ्जालमा अरु व्यक्ति समेत हुनसक्ने आशंका गर्दै भारतीय प्रहरीले छानबिनलाई तीब्र बनाएको छ । प्रहरीले अनुसन्धानका लागि छुट्टै विशेष टीम बनाएर छानबिन गरिरहेको समाचारमा उल्लेख छ ।