आसन्न चुनावका लागि भारतद्वारा २२३ सवारीसाधन हस्तान्तरण

आसन्न चुनावका लागि भारतद्वारा २२३ सवारीसाधन हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारत सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल सरकारलाई तेस्रो चरणअन्तर्गत २२३ वटा सवारीसाधन हस्तान्तरण गरेको छ ।

बिहीबार आयोजित कार्यक्रममा भारत सरकारले सवारीसाधन नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो ।

गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेका अनुसार निर्वाचन प्रयोजनका लागि सवारी साधन हस्तान्तरण गर्ने कार्यक्रमअन्तर्गत यो तेस्रो लट हो । उनका अनुसार पहिलो लटमा ६१ वटा, दोस्रो लटमा २५४ वटा र तेस्रो लटमा २२३ वटा गाडी हस्तान्तरण गरिएको छ ।

बिहीबार हस्तान्तरण गरिएका सवारीसाधनमध्ये ५० वटा गाडी नेपाली सेनाका लागि रहेका छन् ।

भारत सरकारले यी सवारीसाधन अनुदानस्वरूप उपलब्ध गराएको छ । निर्वाचन सुरक्षा सम्बन्धी प्रहरीका केही सामग्रीहरू आइसकेका छन् भने बाँकी सामग्री आउने क्रम जारी रहेको सहसचिव काफ्लेले जानकारी दिए ।

सवारीसाधनहरू मूलत: सुरक्षा निकाय तथा निर्वाचनसँग सम्बन्धित निकायहरूलाई क्रमश: हस्तान्तरण गरिने जनाइएको छ ।