भारतीय सेनाध्यक्षको नेपाल भ्रमणः सुरक्षा व्यवस्था कडा, यस्तो छ कार्यतालिका


काठमाण्डु – भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी तीन दिने नेपाल भ्रमणमा आउँदैछन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी बुधबार दिउँसो नेपाल आउँदैछन् ।

भारतीय विशेष विमानमार्फत नेपाल आउन लागेका नरावणे सोल्टी होटलमा बस्नेछन् । आजै उनी पत्नी विणासहित पशुपतिनाथको दर्शन गर्न जानेछन् । नरावणे बस्ने सोल्टी होटललगायतका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रहरीले नरावणेको भ्रमणको विरोध गर्नेहरुको खोजी गरिरहेको छ । नरावणेलाई कालो झण्डा देखाउने चेतावनी दिएका पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल भ्रमणको पहिलो दिन (आज) कुनै औपचारिक कार्यक्रम नभए पनि दोस्रो दिन उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नेछन् । त्यसलगतै सैनिक मुख्यालय जङ्गी अड्डामा उनले सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम छ ।

सोही दिन प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थलसेनाध्यक्ष जनरल नरावणेसँग औपचारिक भेटवार्ता गर्नेछन् । सेनाका पिएसओज र रथीवृन्दसँग भेटघाट र छलफलको कार्यक्रम तय भएको छ । सोही अवसरमा दुई देशबीचको सुरक्षा सहयोगसँग सम्बन्धित तेह्रौं दुई बैठकको सहमतिअनुरुप एम्बुलेन्सलगायत स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम छ ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछिन् । नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशको सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रही आएको छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरावणेले १८औँ सेनापति हुन् ।

भारतीय सेनाको मानार्थ महारथीको दज्र्यानी प्राप्त गर्ने वर्तमान प्रधानसेनापति थापा १४ औं सेनापति हुन् ।

सोही अवसरमा राष्ट्रपतिसँग उनको भेटवार्ता हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । सोही दिन भारतीय सेनाध्यक्षको सम्मानमा जङ्गी अड्डामा रात्री भोज आयोजना हुनेछ । भ्रमणको तेस्रो दिन उनी शिवपुरीस्थित आर्मी कमाण्ड एन्ड स्टाफ कलेजमा आयोजना हुने शिक्षार्थीसँगको अन्तरक्रियामा सहभागी हुनेछन् ।

रक्षामन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थलसेनाध्यक्ष नरावणेले सोही दिन औपचारिक भेटवार्ता गर्नेछन् । नेपालको तीन दिवसीय भ्रमण पूरा गरी जनरल नरवणेको नेतृत्वमा रहेको चार सदस्यीय भारतीय सेनाको टोली शुक्रबार स्वदेश फर्कनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement