भारतीय सेनाले नेपाली सेनालाई दियाे एक लाख डोज कोरोना खोप


काठमाण्डु – भारतीय सेनाले नेपाली सेनालाई सहयोगस्वरुप प्रदान गरेको एक लाख डोज कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’ मध्ये पहिलो खेपको खोप हस्तान्तरण गरेकाे छ।

मंगलबार जंङ्गी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच औपचारिक रुपमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्‍वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई खोप हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवाणेले भिडियो कन्फरेन्समार्फत उक्त खोप प्रधानसेनापति थापालाई ग्रहण गर्न अनुरोध गरेका थिए। त्यसलगत्तै भारतीय राजदूत क्‍वात्राले खोप हस्तान्तरण गरेका थिए।

उक्त हस्तान्तरण कार्यक्रममा जनरल नरवणेले मित्रराष्ट्रहरुलाई महामारीको समयमा सक्दो सहयोग गर्ने भारतीय सरकारको नीति अनुसार घनिष्ट सम्बन्ध रहेको नेपाली सेनालाई यस प्रकारको सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताएका थिए ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले यस सहयोगको लागि जनरल नरवणे, भारतीय सेना तथा भारतीय सेनाको सकल दर्जालाई धन्यवाद ज्ञापन गर्दै यस सहयोगले नेपाली सेनाका सकलदर्जा एवं प्राथमिकताका आधारमा हिताधीकारीहरु समेत लाभान्वित हुने, महामारी बिरुद्धको लडाइमा नेपाली सेना अझ बढी प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुने भन्दै यस कार्यबाट दुई देशका सेनाबीच रहेको सम्बन्ध अझ बढी प्रगाढ भएको भावना ब्यक्त गरेका थिए।

नेपाल र भारतको सेनाबीच विशेष सम्बन्ध रहिआएको छ। दुबै देशका सेना प्रमुखले एक अर्काको देशमा महारथीको मानार्थ दर्ज्यानी चिन्ह आदान प्रदान गर्ने गर्छन ।यसअघि भारत सरकारले नेपाललाई १० लाख डोज खेप सहयोग स्वरुप उलब्ध गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement