कैलाश मानसरोवर यात्रा सुरु गर्न भारत र चीन सहमत

कैलाश मानसरोवर यात्रा सुरु गर्न भारत र चीन सहमत

भारतीय विदेश सचिव मिश्री र चिनियाँ विदेशमन्त्री वाङ यी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारत र चीनबीच कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने समझदारी भएको छ । भारतका विदेश सचिव विक्रम मिस्री र चीनका विदेशमन्त्री वाङ यीबीच सोमबार भएको भेटवार्तामा यो सहमति भएको हो।

सहमति अनुसार भारत–चीनबीच सीधा हवाई सेवा पनि छिट्टै सुरु गरिनेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच गत अक्टाेबरमा भएको भेटघाटपछि भएको यो भेटवार्ता भारत–चीन सम्बन्धलाई स्थिर र सुदृढ बनाउने उद्देश्यले भएको हो।

दुवै पक्ष यो वर्षदेखि कैलाश मानसरोवर यात्रा प्रारम्भ गर्न सहमत भएका छन्।  यसका लागि विद्यमान सम्झौताअनुसार सम्बन्धित संयन्त्रले प्रक्रियाहरूको खाका तयार पार्नेछ। दुवै पक्षबीच भारत–चीन विज्ञस्तरीय संयन्त्रको बैठक गर्ने सहमति भएको छ। जसमा जलविद्युतका साथै सीमा क्षेत्रका नदीसँग सम्बन्धित अन्य सहयोगबारे छलफल हुनेछ,’ भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

चीनले कोभिड महामारीका कारण सन् २०२० देखि कैलाश मानसरोवर यात्रामा रोक लगाएको थियो। चीनले सन् २०२३ मा भारतीय नागरिकबाहेकलाई पुनः यात्राका अनुमति दिएको थियो। सन् २०२० मा गलवान क्षेत्रमा भारत र चीनका सैनिकबीच झडप भएपछि सम्बन्ध बिग्रिएको थियो ।

कैलाश मानसरोवर यात्राका लागि भारत र चीनले विवादित भूमि प्रयोग गर्दा नेपाललाई भने थाहा दिइएको छैन ।