काठमाण्डु – भारतले कोरोना भाइरसविरुद्धको खोप निर्यातमा अनिश्चितकालिन रोक लगाएको छ ।
कोरोनाको दोस्रो चरणको लहर सुरु भएपछि भारतले आफैलाई आवश्यक पर्ने भन्दै तत्कालका लागि अक्सफर्ड–आस्ट्राजेनेकाकाे सबै खोप निर्यातमा रोक लगाएको बीबीसीले जनाएको छ ।
एसआईआई विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी पनि हो । भारतको यो निर्णयले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्नसक्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य संगठनले सबै देशहरूमा कोरोना खोप सुनिश्चित गर्ने राखेको लक्ष्य भारतको पछिल्लो निर्णयले प्रभाव पर्ने भएको छ ।
भारतले अहिलेसम्म विभिन्न ७६ देशमा ६ करोड ५० लाख डोज खोप निर्यात गरिसकेको छ । कोभ्याक्स परियोजनाअन्तर्गत नेपालले पनि ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको छ ।
त्यस्तै एसआईआईबाटै उत्पादित कोभिसिल्डको १० लाख डोज भारत सरकारले नेपाललाई अनुदानस्वरूप उपलब्ध गराएको थियो । त्यस्तै सरकारले फागुन ५ गते एसआईआईसँग २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको थियो ।
त्यसअन्तर्गत पहिलो खेपमा १० लाख डोज फागुन ८ गते आइपुगे पनि अर्को खेप अझै आएको छैन । यसअघि स्वास्थ्य मन्त्रालयले फागुन २३ गतेअगावै दोस्रो खेप आइपुग्ने दाबी गरेको थियो । र, यसबाट नेपालमा पनि खोप अभियान प्रभावित हुन सक्ने बुझिएको छ।




प्रतिक्रिया