काठमाण्डु- नेपालमा गत महिना भएको ‘जेन–जी’ आन्दोलनको प्रभाव भारतका युवाहरूमा पनि परेको पाइएको छ।
नेपालको ‘जेन–जी’ आन्दोलनले त्यहाँको सरकारलाई ढालेको छ भने संसदको नयाँ निर्वाचन गराउन गैरदलीय अन्तरिम सरकार बनेको छ। नेपालमा युवाहरूले गरेको आन्दोलनको पछिल्लो प्रभाव लद्दाखमा भएको आन्दोलन हो।
छुट्टै लद्दाख राज्यको माग गर्दै गत २८ सेप्टेम्बरमा भएका प्रदर्शन हिंसात्मक बनेपछि लद्दाखका प्रहरी प्रमुख एस.डी. सिंह जमवालले अभियन्ता सोनाम वाङ्चुकका विषयमा ‘विदेशीसँग सम्बन्ध’ रहेको दाबी गरेका थिए। पाकिस्तानमा भएको एउटा कार्यक्रममा वाङ्चुकको भ्रमणबारे संकेत गर्दै उनले आन्दोलनमा ‘विदेशी सम्बन्ध’ रहेको आशंका गरेका थिए।
लद्दाखको आन्दोलनमा दुई जना नेपाली पनि पक्राउ परेका छन्। तर उनीहरू कुनै योजनाको हिस्सा हुन् कि होइनन् भन्नेबारे अनुसन्धान जारी छ। लद्दाखमा धेरै नेपाली मजदुरहरू बस्छन्। यो ठाउँमा उनीहरूले काम गर्ने लामो इतिहास छ, त्यसैले यो विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
यसअघि केन्द्रीय गृह मन्त्रालयका अधिकारीहरूले पनि वाङ्चुकका उत्तेजक भाषणहरूमा नेपालको ‘जेन–जी’ आन्दोलन र ‘अरब स्प्रिङ’ का सन्दर्भहरू रहेको भन्दै लद्दाख आन्दोलन हिंसात्मक बन्नुको कारण त्यसलाई ठहर गरेका थिए।
‘जेन–जी’ सामान्य रूपमा सन् २००० तिर जन्मिएका पुस्तालाई जनाउन प्रयोग हुने शब्द हो। पछिल्लो एक महिनायता नेपालमा भएको आन्दोलनपछि यो शब्द गहिरो राजनीतिक अर्थमा प्रयोग हुन थालेको छ।
लद्दाखमा अधिकांश युवा प्रदर्शनकारीहरूले लेहमास्थित सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा आगजनीलगायतका हिंसात्मक कार्य गरेपछि प्रहरी कारबाहीमा चार जना प्रदर्शनकारीको ज्यान गएको थियो।
लद्दाखको प्रदर्शनले भारतमा पनि ‘जेन–जी’ चर्चा पाउन थालेको छ। लद्दाखको प्रदर्शनमा प्रहरीले विदेशी सम्बन्धको आशंका गर्नु र नेपाली पनि पक्राउ पर्नुबीच सम्बन्ध रहेको प्रहरी बताउँछन्।
नेपालको सन्दर्भले भारतमा चर्चा पाउनुको अर्थ नेपालमा ‘जेन–जी’ ले गरेको हिंसात्मक आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई अपदस्थ गरेको हो भन्ने जानकारहरूको बुझाइ छ।
सो आन्दोलनको तत्कालीन कारण सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध थियो। तर विश्लेषकहरूका अनुसार पुराना राजनीतिक नेतामाझ नातावाद, अभिजात्य सोच र भ्रष्टाचार नै त्यो आक्रोशको मूल कारण थियो। नेपालमा नागरिक समाजकी नेतृ तथा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अहिले अन्तरिम प्रधानमन्त्री बनेकी छन्।
भारतमा पनि ‘जेन–जी’ शब्द अहिले राजनीतिक हतियारजस्तै बनेको छ। कांग्रेस नेता राहुल गान्धीले नेपालका घटनापछि ‘संविधानको रक्षा गर्नुपर्ने पुस्ता’ भनेर पहिलो पटक ‘जेन–जी’ लाई उल्लेख गरेका छन्। त्यसपछि भाजपा सांसद निशिकान्त दुबेले राहुल गान्धीमाथि भारतमा अशान्ति भडकाउने प्रयास गरेको आरोप लगाए। दुबेले त भारतका ‘जेन–जी’ युवाहरू ‘हिन्दू राष्ट्र’ चाहन्छन् भन्ने दाबी पनि गरे।
बेचैन जेन जी
भारतको ‘जेन–जी’ बेचैन छ। भारतमा २५ वर्ष मुनिका करिब ३७ करोडभन्दा बढी, अर्थात् देशको झन्डै एक चौथाइ जनसंख्या युवा छन्।
स्मार्टफोन र सामाजिक सञ्जालमार्फत उनीहरू निरन्तर राजनीति, भ्रष्टाचार र असमानताबारे जानकारीमा रहन्छन्। तर सडकमा ओर्लिनु उनीहरूका लागि जोखिमपूर्ण र टाढाको कुरा बनेको छ।
राष्ट्रविरोधीको ट्याग लाग्ने डर, क्षेत्रीय र जातीय विभाजन, आर्थिक दबाब, र आफ्ना कदमले खासै प्रभाव पार्दैन भन्ने भावनाले उनीहरूलाई रोकेको छ।
एशिया र अफ्रिकाका अन्य देशहरूमा भने ‘जेन–जी’ पुस्ता पछिल्ला महिनाहरूमा निकै सक्रिय देखिएका छन्। उदाहरणका लागि, नेपालमा ‘जेन–जी’ ले ४८ घण्टामै सरकार ढाल्योस मडागास्करमा नेतालाई सत्ताच्युत गरियोस इन्डोनेसियाली युवाहरूले मूल्यवृद्धि, भ्रष्टाचार र असमानताको विरोध गर्दै सरकारलाई सम्झौता गर्न बाध्य पारेस बङ्गलादेशमा शेख हसिनाको सरकार ढलेर उनी पलायन भइन्।
यी आन्दोलनहरूलाई सामाजिक सञ्जालले तीव्र गतिमा फैलिन मद्दत गरेको थियो। तर भारतमा पनि असन्तुष्टिका हल्का संकेतहरू देखिएका छन्।
लद्दाखको प्रदर्शन भारतमा ‘जेन–जी’ ले गरेको एउटा उदाहरण हो। यस्तो प्रकारको प्रदर्शन अन्य राज्यमा पनि फैलिन सक्ने सम्भावना छ। यो मनोवृत्तिले राष्ट्रिय राजनीतिमा पनि प्रतिध्वनित पाएको छ।
नेपालमा भएको युवा आन्दोलनलगायत क्षेत्रीय अस्थिरतालाई देख्दै दिल्लीका प्रहरी प्रमुखले सम्भावित युवाआधारित प्रदर्शनका लागि आकस्मिक योजना बनाएका छन्। केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भारतका युवालाई पनि घरमै यस्तै आन्दोलन गर्न आग्रह गरिरहेका छन् भने केहीले नेपालको हिंसात्मक घटनाबाट पाठ सिक्न चेतावनी दिएका छन्।
भारतमा ‘जेन–जी’ भित्रै ‘अनलाइन लडाइँ’ चलिरहेको छ। एक पक्षले प्रदर्शनहरूलाई न्यायका वैध मागको रूपमा देख्छ भने अर्को पक्षले तिनीहरूमा विदेशी हस्तक्षेपको आशंका गर्छ।
१९७० को दशकमा इन्दिरा गान्धीविरुद्धको विद्यार्थी आन्दोलनदेखि क्याम्पसहरूमा भएका पछिल्ला प्रदर्शनहरूसम्म भारतीय विद्यार्थीहरूको सक्रियता सधैं चर्चामा रहिआएको छ।
तर विशेषज्ञहरू भन्छन्, ‘भारतको युवा आन्दोलनले नेपाल वा बङ्गलादेशझैं केन्द्रीय सरकारलाई ढाल्न सक्ने सम्भावना न्यून छ।’
यसको मुख्य कारण भारतको ‘जेन–जी’ विखण्डित रहेको उनीहरूको धारणा छ।
रोजगारी अभाव, भ्रष्टाचार र असमानताबाट उनीहरू पनि निराश छन्, तर उनीहरूको आक्रोश स्थानीय मुद्दाहरूमा सीमित रहन्छ।
सेन्टर फर युथ पोलिसी’का सुधांशु कौशिक भन्छन्, ‘भारतमा अत्यन्तै विविध युवासमुदाय छन्, जसका चासो र सरोकारहरू आपसमा भिन्न छन्।’ कौशिकका अनुसार, पछिल्ला दशकहरूमा धेरै युवाहरूले आफूलाई धार्मिक, सांस्कृतिक र भाषिक पहिचानका माध्यमबाट परिभाषित गर्न थालेका छन्।
तर भारतमा युवाहरूले आन्दोलन नै नगरेका भने होइनन्। २०१९ मा कश्मीरको स्वायत्तता हरण, कृषि सुधार कानून र नागरिकता संशोधन ऐनविरुद्ध आन्दोलन भएका थिए। त्यहि वर्ष दिल्लीको जामिया मिलिया इस्लामिया र अलीगढ मुस्लिम विश्वविद्यालयका विद्यार्थीहरूले गरेको प्रदर्शन हिंसात्मक बनेको थियो।




प्रतिक्रिया