काठमाण्डु – विश्वकै ठूलो खोप उत्पादक मुलुक भारतले खोप निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । गत अप्रिलदेखि खोप निर्यातमा रोक लगाएको भारतले अक्टोबरदेखि विदेशमा खोप निर्यात प्रतिवन्ध हटाउने निर्णय गरेको हो ।
सोमबार दिल्लीमा पत्रकार सम्मेलन आयोजना गर्दै भारतीय स्वास्थ्यमन्त्री मनसुख माण्डवीयले अक्टोबरदेखि विदेशमा खोप निर्यात हुने जानकारी दिएका हुन् । भारतले छिमेकी मुलुकसहित कोभ्याक्स संयन्त्रलाई खोप निर्यातको प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।
खोप उत्पादन गर्ने क्षमता बढिरहेको र अर्को महीनासम्म ३०० मिलियन अतिरिक्त डोज उत्पादन हुने भएकाले विदेशमा निर्यात सुरु गर्ने योजना रहेको स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन् ।
भारतले खोप निर्यात प्रतिबन्ध फुकुवाको घोषणा गरेसँगै नेपाललाई खोपमा राहत मिलेको छ । अक्टोबरमा नेपालले १० लाख डोज खोप पाउने भएको छ । नेपालले उक्त मात्राको खोपका लागि उत्पादक कम्पनी सिरम इन्स्टिच्युटलाई यसअघि नै भुक्तानी गरिसकेको छ ।
भारतले अक्टोबरमा खोप निर्यात गर्ने घोषणा गरेसँगै सोही बेला नेपालले पनि बाँकी डोज खोप पाउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।जसअनुसार नेपालले अबको एक महीनाभित्र १० लाख डोज कोभिसिल्ड खोप प्राप्त गर्नेछ ।




प्रतिक्रिया