काठमाण्डु– मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट पहिलो पटक एक महिनामा १० करोड लिटर पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ । नेपालस्थित भारतीय राजदुतावासले ट्विटरमार्फत जानकारी दिंदै पाइपलाईनबाट पहिलो पटक दश करोड लिटर डिजेल आपूर्ति भएको जनाएको छ ।
भारत र नेपालबीच इन्धन आपूर्ति सहजताका लागि यो पाइपलाईन बनाइएको थियो । ६९ किलोमिटर लामो यो पाइपलाइनको गतबर्ष प्रधानमन्त्री केपी शर्मा ओली र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले उदघाटन गरेका थिए ।
दुतावासले ट्विटरमा पाइपलाईन बनेयता एकै महिनामा दश करोड लिटर डिजेल आपूर्ति गरेर नेपाललाई ठूलो सहयोग पुगेको र पाइपलाइनबाट डिजेल आपूर्ति गर्दा करिब १ अर्ब नेपाली रुपैयां बराबरको खर्च जोगिएको दावी गरेको छ । पाइपलाईन बनेयता पेट्रोलियम पदार्थ आपूर्तिमा खर्च समेत कम भएको नेपाल आयल निगमले जनाएको छ
निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६-७७ को वार्षिक आर्थिक प्रतिवेदनअनुसार २०७६ भदौदेखि २०७७ असारसम्मको १० महिनामा ढुवानीबापतको रु एक अर्ब ४७ करोड बचत भएको हो । उक्त प्रतिवेदनअनुसार प्रति महिना पाइपलाइनमार्फत इन्धन ढुवानी हुंदा रु १४ करोड ७० लाख बचत हुंदै आएको छ ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट ट्याङ्करमार्फत इन्धन ढुवानी गर्दै आएको निगमले गत वर्षबाट पाइपलाइनमार्फत डिजेल ढुवानी शुरु गरेको थियो । पाइपलाइनमार्फत डिजेल ढुवानी गर्न थालेपछि ठूलो रकम बचत हुन थालेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।
ट्यांकर मार्फत पेट्रोलियम पदार्थ आयात गर्दा चोरी हुने, लिक हुने, आपूर्तिमा ढिलाई हुने जस्ता अनेकौं समस्याहरु हुने गरेका थिए । मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाईन निर्माणपछि त्यो समस्या हल भएको हो । आयल निगमले पूर्वको झापामा पनि पाइपलाइनको काम शुरुवात गर्ने तयारी गरेको छ ।




प्रतिक्रिया