भारतमा रोकिएका मजदुर घर फर्किए

भारतमा रोकिएका मजदुर घर फर्किए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 नरेन्द्रसिंह कार्की/दार्चुला – कोभिड–१९ ले त्रसित बनाएपछि भारतमा मजदुरी गर्न गएका नेपाली धमाधम स्वदेश फर्कन थालेका छन् । भजनी नगरपालिका–४ कैलालीका दलबहादुर बुढा पनि एक महिना भारतीय क्वारेन्टाइनमा बसेपछि बुधबार स्वेदश फर्किनुभएको छ । रोजगारी खोज्न भारतका कालापहाडमा गएका बुढासँगै एक महिनादेखि धार्चुला भारतमा क्वारेन्टाइन बसेका सबै नेपाली स्वदेश फर्किएका हुन् ।

चौतीस दिन भारतको क्वारेन्टाइनमा दुःखकष्ट सहेर स्वदेश फर्किएका नेपाली आफ्नो गाउँमा आउन पाएकामा निकै खुशी छन् । “ढिलो गरी आफ्नो भूमि आउन पाउँदा पनि भारतमा खेप्नुपरेको कष्ट भुलेका छौँ”, दलबहादुर बुढाले भने, “आफ्नै जन्मभूमि र आफ्नो गाउँ फर्किन पाउँदा खुशीको सीमा छैन । सरकारले हाम्रो आवाज सुनिदियो, धेरैधेरै धन्यवाद ।”

“भारतमा रहेका मजदुरहरु स्वदेश आएसँगै आफ्नो गाउँसम्म पु¥याउनुपर्छ”, शुक्लाफाँटा नगरपालिका–१० का मनोज पार्की बताउँछन्, “सरकारले उद्धार ग¥यो, अब घरपरिवार भेट्न चाहन्छौँ ।” गत मङ्सिरमा भारतमा मजदुरी गर्न गएका मनोज अब भारतभन्दा आफ्नै भूमिमा काम गर्ने बताउँछन् । अप्ठ्यारो परेको बेला आफ्नै देशको भूमि प्यारो छ । भारतमा गएर गालीगलौज खानु शिवाय केही छैन । एक महिना क्वारेन्टाइन बस्दा भोगेको समस्या भनेर साध्य छैन । उनीहरुकले निरन्तर आफ्नो समस्या सञ्चारमाध्यममा दिएकै कारण सरकारले भारतबाट उद्धार गर्ने निर्णय गरेको हो ।

बिहीबार दार्चुला जिल्लाका दुई नाका दत्तु र खलङ्गा तथा बैतडीको झुलाघाट नाका भएर नेपालीको उद्धार गरिएको छ । सदरमुकाम खलङ्गाको पुलघाँटबाट आएकाहरुलाई महेन्द्र नमूना मावि खलङ्गा र दत्तुमै स्वास्थ्य जाँच गरिएको छ । स्वास्थ्य जाँचपछि अधिकांशलाई घर पठाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

बैतडी, बझाङ र दार्चुलाका विभिन्न स्थानीय तहका व्यक्तिलाई सम्बन्धित स्थानीय तहकै क्वारेन्टाइनमा व्यवस्थापन गर्ने गरी पठाइएको उनले बताए । नेपाल भित्र्याइएका कैलाली कञ्चनपुरलगायत अन्य जिल्लाका नागरिक पनि पठाउने तयारी भइरहेको छ । आफ्ना स्थानीय तहका नागरिक लिन बैतडी र बझाङका जनप्रतिनिधि दार्चुला आएका थिए । धार्चुलाका विभिन्न क्वारेन्टाइनमा राखिएका नेपालीमध्ये बैतडी र बझाङका नागरिकलाई दत्तु नाकाबाट ल्याइएको छ भने दार्चुलालगायत अन्य जिल्लाका नागरिक खलङ्गा नाकाबाट नेपाल भित्र्याएको हो ।

नेपाल भारतमा लकडाउन भएपछि धार्चुलामा पुगेका नेपालीले स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै तीन दिनसम्म पुल छेउबाटै नाराबाजी गरेका थिए । सयौँ नेपाली महाकाली तरेरसमेत नेपाल फर्किएका थिए । नेपाल भित्रिन नसकेका मजदुरलाई उच्चस्तरीय सहमतिपछि नेपाल प्रवेश गराइएको हो । दत्तु र खलङ्गा नाका भएर अपराह्नसम्म एक हजार २९० नेपाली स्वेदश फर्किएका छन् । ढिलै भए पनि सफलरूपमा नेपाल प्रवेश गराएर सम्बन्धित तहमा पठाउन सकिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल खुशी व्यक्त गर्छन् । उनी भन्छन्, “ लामो समयदेखि उद्धारको माग गर्दै आएका नेपाली मजदुरलाई उद्धार गर्न सकियो । लामो समयसम्म माथिबाट आदेश नआउँदा ढिलाइ भए पनि अहिले आएर उनीहरुको स्वास्थ्य जाँच गरेर पठाएका छौँ ।”

उद्धारपछि नेपालको मात्र होइन, भारतीय प्रशासनसमेत खुशी छ । भारत धार्चुलाका एसडीएम अनिल शुक्लाले एक महिनासम्म नेपालीको स्वास्थ्य जाँच गरी सुरक्षित राखिएको बताए । एसडीएम शुक्लाले भने, “सबै नेपाली स्वस्थ्य छन्, चिन्ता मान्नुपर्ने अवस्था छैन ।” उनले नेपालीलाई धार्चुलामा, खान, बस्न, मनोरञ्जन खेल्न तथा योगको माध्यमबाट खुशसी राखिएको प्रतिक्रिया दिए । भारतको पिथौरागढअन्तर्गत धार्चुलामा दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ, डोटी, कैलाली, कञ्चनपुर, अछाम, दैलेख, सुर्खेतलगायतका जिल्लाका मजदुर थिए ।

तेह्र सयको उद्धार

दार्चुलामा लकडाउनका कारण धार्चुलामा अलपत्र परेका एक हजार २९० को उद्धार गरिएको छ । सदरमुकाम खलङ्गा र दत्तुनाका भएर वैशाख १८ गते नेपालीको उद्धार गरिएको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार सदरमुकाम खलङ्गा नाका भएर ३७६ र दत्तुनाका भएर ९१४ को उद्धार गरिएको छ । एक महिनादेखि लकडाउनका कारण धार्चुलाका पाँच क्वारेन्टाइनमा बसेका र होमक्वारेन्टाइनमा रहेका दार्चुलासहित १२ जिल्लाका नागरिकको उद्धार गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले दिएको जानकारीअनुसार दार्चुलाका ३११, बैतडीका ४७४, बझाङका २८३, अछामका ५०, कैलालीका १०२, डोटीका दुई, डडेल्धुराका २१ र कञ्चनपुरका २१ जना रहेका छन् । यस्तै दैलेखका दुई, सुर्खेतका तीन, हुम्लाका एक र कालीकोटका तीन जना छन् । उद्धार गरिएका दार्चुलाका अधिकांश स्थानीय तह र बैतडी बझाङका केहि व्यक्तिलाई सम्बन्धित स्थानीय तहमा पठाइएको छ ।