काठमाण्डु- भारत र पाकिस्तानबीचको तनाव दिनप्रतिदिन बढ्दै गएको छ । बिहीबार दुवै देशले एक–अर्काविरुद्ध कारबाही गरेको दाबी गरेका छन् ।
बिहीबार राति नै भारतले जम्मु, पठानकोट र उधमपुरका सेन्य अखाडामा पाकिस्तानले गरेको हमलालाई निष्क्रिय पारेको थियो । तर पाकिस्तानका रक्षामन्त्रीले भने उक्त हमला अस्वीकार गरेका छन् ।
भारतको रक्षा मन्त्रालयले पाकिस्तानको लाहोरमा रहेको एक वायु प्रतिरक्षा प्रणाली ध्वस्त पारेको दाबी गरेको छ भने पाकिस्तानले भारतका २५ ड्रोन खसालेको दाबी गरेको छ ।
यस बढ्दो तनावको सन्दर्भमा भारत र पाकिस्तानका छिमेकी देशहरूले कस्तो प्रतिक्रिया जनाउँछन् त्यो पनि अर्थपूर्ण छ ।
नेपालले आतंकवादविरुद्ध उभिने जनाइ सकेको छ । ‘आतंकवाद विरुद्धको लडाइमा नेपाल सबै पक्षसँगै उभिएको छ । आफ्नो सैद्धान्तिक अडान अनुरूप, नेपालले कुनै पनि शत्रुतापूर्ण शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरू विरुद्ध आफ्नो भूमि प्रयोग गर्न दिने छैन’ नेपालले भनेको छ ।
मिडल ईस्ट इन्साइट्स प्लेटफर्मकी संस्थापक डा. शुभदा चौधरी भन्छिन्, ‘भारत र पाकिस्तानका छिमेकी देशहरूमा सामाजिक तथा आर्थिक रूपमा कमजोर वर्गका मानिस धेरै छन् । यदि भारत र पाकिस्तानबीचको संघर्ष लामो समयसम्म चल्छ भने आर्थिक रूपमा यी देशका मानिसहरू सबैभन्दा बढी प्रभावित हुनेछन् ।’
उनी भन्छिन्, “यी सबै देशहरूको अर्थतन्त्र कोभिड महामारीपछिको संकटबाट अझै उकासिएको छैन, त्यसैले आर्थिक स्वार्थ उनीहरूको प्राथमिकता हुनेछ ।’
उनी अनुमान गर्छिन् कि भारत र पाकिस्तानका छिमेकी देशहरू यस तनावलाई चाँडै सकिने आशामा छन् ।
नेपाल, भुटान, श्रीलंका, बंगलादेश, म्यानमार र अफगानिस्तानजस्ता देशहरू भारत–पाकिस्तानबीचको तनावबाट विभिन्न हिसाबले प्रभावित हुन सक्छन् ।
नेपालको सन्दभै जोड्दै डा. चौधरी भन्छिन्, ‘नेपालको भारतसँग ६० प्रतिशत व्यापार हुन्छ, त्यसैले यो तनावले नेपाललाई प्रभावित पार्न सक्छ । नेपाल तनाव चाँडै कम होस् चाहन्छ, तर चीनले यस स्थितिलाई नेपालसँगको सम्बन्ध विस्तार गर्न प्रयोग गर्न सक्छ ।’
भुटानको पर्यटन उद्योग भारतको अर्थतन्त्रसँग गाँसिएको हुँदा त्यहाँ पनि असर पर्न सक्ने अनुमान गरिएको छ । दक्षिण एशियाका भू–राजनीतिक विश्लेषक तथा साउथ एशियन युनिभर्सिटीका प्राध्यापक डा. धनञ्जय त्रिपाठी भन्छन्, ‘अफगानिस्तान बाहेक सबै छिमेकी देशहरू तटस्थ छन् । भारत दक्षिण एसियामा ठूलो अर्थतन्त्र भएको देश हो र छिमेकी देशहरू धेरैहदसम्म भारतमाथि निर्भर ।’ श्रीलंका र नेपालजस्ता मुलुकहरू पर्यटनमा भर पर्ने भएकाले तनाव छिट्टै अन्त्य होस् भन्ने चाहेको उनको भनाइ छ ।
भारत र श्रीलंकाबीच स्वतन्त्र व्यापार सम्झौता छ र भारतले श्रीलंकाको आर्थिक संकटमा ठूलो सहयोग पनि गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै श्रीलंका भ्रमण पनि गरेका थिए ।
जानकारहरू युद्धले भारतको अर्थतन्त्रलाई असर पार्ने बताउँछन् । किनभने रक्षाखर्च बढ्छ तर रोजगारी हुँदैन ।
भारत र पाकिस्तान युद्धको सबैभन्दा बढी असर बंगलादेशलाई हुने छ । त्यहाँ सेख हसिनाको सत्ता परिवर्तन पछि बंगलादेश पाकिस्तानसँग नजिकिएको छ ।
चीनको भूमिका
चीनले दक्षिण एशियाली देशहरूमा धेरै लगानी गरेको छ, तर त्यसबाट चीनलाई नै बढी फाइदा भएको छ । त्यसैले माल्दिभ्स र श्रीलंका जस्ता देशहरू फेरि भारततिर फर्किरहेका छन् ।
यद्यपी चीनले भारत–पाकिस्तान तनावमा ‘चिन्ता’ व्यक्त गरेको छ । तर, पाकिस्तानसँग चीनको गहिरो सम्बन्ध छ भने भारतसँग पनि व्यापारिक सम्बन्ध छन् ।
चीनले पाकिस्तानमा २००५ देखि २०२४ सम्ममा करिब ६८ अर्ब डलर लगानी गरिसकेको छ । साथै चाइना–पाकिस्तान इकोनोमिक कोरिडोर (सीपेक) र बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआइ)अन्तर्गत ठूलो लगानी गरिरहेको छ ।
चीनले पाकिस्तान युद्धमा रहोस् चाहेको छ ताकि उसले पाकिस्तानलाई हतियार बेची रहोस् ।
प्रतिक्रिया