कति टिक्छ भारत-पाकिस्तान युद्धविराम ?

कति टिक्छ भारत-पाकिस्तान युद्धविराम ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – १९ दिनको तनावपछि भारत र पाकिस्तान अन्ततः युद्धविरामका लागि तयार भएका छन् । दुबै पक्षले एकअर्काविरुद्धको सैन्य कारवाही रोकेर शान्ति र स्थिरताका लागि सहमति जनाएका छन् । अमेरिकाले यस युद्धविरामका लागि मध्यस्थता गरेको छ ।

 दक्षिण एसियाका यी दुई आणविक शक्ति सम्पन्न राष्ट्र आमनेसामने हुँदा क्षेत्रीय शान्तिमाथि नै गम्भीर प्रश्न खडा भएको अवस्थामा अमेरिकाको मध्यस्थतामा युद्धविराम घोषणा भएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अमेरिकी मध्यस्थतामा लामो वार्तालापपछि भारत र पाकिस्तानले पूर्ण र तत्काल युद्धविराममा सहमति जनाएका छन् ।’

युद्धविरामपछि भारत र पाकिस्तानको सकारात्मक प्रतिक्रिया आएको छ । ‘भारतले सधैं आतंकवादका सबै रूपको विरुद्ध कठोर र नझुक्ने नीति लिएको छ र यसलाई कायम राख्नेछ’ भारतका विदेश मन्त्री एस. जयशंकरले भनेको छन् । यस्तै पाकिस्तानका विदेश मन्त्री इसहाक डारले पनि उनीहरूको देश युद्धविरामका लागि तयार भएको उल्लेख गरेका छन् ।
पाकिस्तानले टर्की, साउदी अरेबिया र अमेरिकीको पहलमा युद्धविराम भएको बताउँछन् भने भारतले युद्धविराममा अमेरिकाको भूमिकालाई महत्व दिएको छैन ।

२२ अप्रिलमा पहलगाममा भएको हमलाको जवाफस्वरूप ६ र ७ मेको रात भारतले पाकिस्तानभित्र धेरै स्थानमा आक्रमण गर्‍यो । यसपछि तनाव बढ्दै गयो र दुबै देशले एकअर्कामाथि ड्रोन हमला गरे । दुबै देशले एकअर्काका ड्रोन र मिसाइल खसालेको दाबी गरे ।

नियन्त्रण रेखामा पनि भारी गोलीबारी भएको थियो । पाकिस्तानले भारतले तीनवटा सैनिक हवाई अड्डामा क्षति पुर्‍याएको दाबी गरेको छ । भारतले पनि पाकिस्तानका हवाई अड्डामा सटीक आक्रमण गरेको दाबी गरेको छ ।

बिहान विस्फोट, साँझ युद्धविराम

शनिबार बिहान भारतको जम्मू र श्रीनगरसहित थुप्रै शहरहरूमा विस्फोटको आवाज सुनिएको थियो । पाकिस्तानले भारतविरुद्ध ‘बुनयान अल मरसूस’ नामको अपरेसन सुरु गरेको थियो । जबकी भारतले अपरेशन सिन्दूर नाम राखेर पाकिस्तानमाथि सैन्य आक्रमण गरेको थियो ।

शनिबार बिहान तीव्र युद्धमा रहेको दुई आणविक सम्पन्न देश साँझ सैन्य कारवाही रोक्ने घोषणा गरे । घटनाक्रम यति छिटो फेरिएको थियो कि धेरैलाई अचम्म लाग्यो । तर विश्लेषकहरूले युद्धविरामका संकेत पहिले नै देखिन थालेका थिए ।

‘शनिबार बिहान प्रधानमन्त्री नरेन्द्र मोदीले सेना प्रमुखहरूसँगको बैठकपछि भारतले कुनै पनि आतंकी आक्रमणलाई युद्धको रूपमा लिने कुरा स्पष्ट गरेपछि नै बुझ्न सकिन्थ्यो कि भारत अब थप अगाडि बढ्न चाहँदैन’, रक्षा विश्लेषक प्रवीण साहनी भन्छन् ।

भारतको रक्षा विशेषज्ञ स्मृति एस. पटनायक भन्छिन्, ‘तनाव बढ्दै गर्दा दुबै देश मिसाइल हमलासम्म आइपुगेका थिए । त्यसपछि यदि कुरा अझ बढेको भए पूर्ण युद्ध हुने स्थिति आउँथ्यो । तर अहिले दुबै पक्षले बुझिसकेका छन् कि युद्ध कसैको हितमा छैन ।’

शनिबार अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पाकिस्तानका सेना प्रमुखसँग फोनमा कुरा गरेपछि भारतका विदेश मन्त्री एस. जयशंकरसँग पनि कुराकानी गरेका थिए । अमेरिकी विदेशमन्त्रीको भारत र पाकिस्तनाका विदेशमन्त्रीसँग कुरा भएपछि दुबै देशबीच युद्धविराम भएको हो । यसको पहिलो घोषणा अमेरिकी राष्ट्रपति ट्रम्पले गरेका थिए ।

कति टिकाउ हुनेछ?

दुवै देश अमेरिकाको प्रस्तावलाई स्वीकार गर्दै बिना शर्त युद्धविरामको लागि तयार भएका हुन् । अर्थात दुबै देश ६ मेभन्दा अघिको स्थितिमा फर्किएका छन् ।

विशेषज्ञहरू युद्धविराम टिक्ने बताउँछन् । तर दुवै पक्षबीच सोमबार हुने छलफल पछि नै धेरै कुरा भन्न सकिने उनीहरू बताउँछन् ।

सोमबार फेरि वार्ता हुने तय भएकाले त्यसपछि स्थिति अझ स्पष्ट हुने उनीहरूको भनाइ छ ।

पूर्व ब्रिगेडियर जीवन राजपुरोहित भन्छन्, ‘युद्धविराम दुवै देशका लागि आवश्यक थियो । अमेरिकाको मध्यस्थता महत्वपूर्ण छ । अमेरिका दुबै देशसँग निकट छ ।’

विश्लेषकहरूका अनुसार भारतले यसअघि नै संकेत गरिसकेको थियो कि उ युद्धमा जान चाहँदैन । दुबै देश युद्धको स्थितिबाट सम्मानजनक रूपमा निस्कन चाहेको विश्लेषकहरूको धारणा छ ।