भारत-पाकिस्तान युद्धविराम : भारतको कूटनीतिक महत्वाकांक्षा परीक्षणमा

भारत-पाकिस्तान युद्धविराम : भारतको कूटनीतिक महत्वाकांक्षा परीक्षणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकी पहलपछि भारत र पाकिस्तान पूर्ण युद्धको संघारबाट एक कदम पछाडि हटेका छन् । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मीर विवादमा मध्यस्थता गर्न प्रस्ताव गरेपछि भारतको विश्व कूटनीतिक शक्तिको रूपमा उभिन खोज्ने चाहनामा महत्वपूर्ण परीक्षा आएको विश्लेषकहरूले बताउँ छन् ।

विश्वको पाँचौं ठूलो अर्थतन्त्रको रूपमा भारतको तीव्र उदयले अन्तर्राष्ट्रिय मञ्चमा यसको आत्मविश्वास र प्रभाव बढाएको छ ।

भारतले श्रीलंकाको आर्थिक संकट र म्यानमारको भूकम्पजस्ता क्षेत्रीय संकटहरू समाधान गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।

तर पाकिस्तानसँगको कश्मीर विवाद, जुन पछिल्ला दिनहरूमा ड्रोन हमला, मिसाइल आक्रमण र हवाई कारबाहीहरूसँग पुनः चर्किएको छ, जसमा कम्तिमा ६६ जनाको मृत्यु भएको छ, यस मामिलमा भारत पिछडिएको हो कि भन्ने संशय उत्पन्न भएको छ ।

भारतले कसरी कूटनीतिक सन्तुलन कायम गर्छ त ? अहिलेको टड्कारो विषय बनेको छ । ट्रम्पसँग व्यापार जस्ता मुद्दामा सम्बन्ध राम्रो राख्दै कश्मीरमा आफ्नै हितको रक्षा गर्दै भन्ने कुरा मुख्यतः आन्तरिक राजनीतिमा निर्भर रहनेछ र कश्मीरमा भविष्यमा हुने सम्भावित द्वन्द्वको दिशा निर्धारण गर्न सक्छ ।

‘भारत व्यापक वार्ताका पक्षमा छैन जस्तो देखिन्छ, जसको संकेत युद्धविरामले गर्छ । त्यसलाई कायम राख्न चुनौतिहरू हुनेछन्’ वाशिंगटनस्थित दक्षिण एसिया विश्लेषक माइकल कुगेलम्यान भन्छन् ।

युद्धविराम कति नाजुक अवस्थामा छ भन्ने कुरा शनिबार बेलुकासम्म दुवै सरकारले एकअर्कामाथि गम्भीर उल्लङ्घनको आरोप लगाएको घटनाले देखाउँछ । कुगेलम्यानका अनुसार यो युद्धविराम हतारमा तयार पारिएको हो ।

आइतबार ट्रम्पले भनेका थिए, ‘युद्धविरामपछिको अवस्थालाई ध्यानमा राख्दै, म यी दुई महान राष्ट्रसँग व्यापारलाई उल्लेखनीय रूपमा बढाउनेछु ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने विवाद सुरु भएदेखि हालसम्म यसबारेमा सार्वजनिक रूपमा कुनै टिप्पणी गरेका छैनन् ।
भारतले कश्मीरलाई आफ्ना भूभागको अभिन्न अंग मानेको छ र यसमा कुनै प्रकारको तेस्रो पक्षीय मध्यस्थताको सम्भावनालाई अस्वीकार गरेको छ ।

भारत र पाकिस्तान दुबै हिमाली क्षेत्रमा आंशिक नियन्त्रण राख्छन्, पूरै क्षेत्रमा दाबी गर्छन् । कश्मीर कै विषयमा दुवै देश दुई पटक युद्ध र थुप्रै झडपहरू लडिसकेका छन् । भारतले पाकिस्तान समर्थित विद्रोह भएको आरोप लगाउँछ भने पाकिस्तानले त्यो आरोप अस्वीकार गर्छ ।

‘अमेरिकाको आग्रहमा तीन दिनको सैन्य कारबाहीलाई रोक्नु भारतका लागि अन्तर्राष्ट्रिय ध्यान कश्मीर विवादतर्फ तान्ने विषय भएको छ, न कि पाकिस्तानको सीमा पारको आतंकवादतर्फ जसले यो संकटको सुरुवात गराएको थियो’, भारतीय रक्षा विश्लेषक ब्रह्मा चेलानीले भने ।

१९४७ मा भारत र पाकिस्तान छुट्टिएपछि दशकौंसम्म पश्चिमी विश्वले दुबैलाई एउटै दृष्टिकोणबाट हेर्दै आएको थियो । तर हालको वर्षहरूमा भारतको आर्थिक उन्नतिको कारण स्थिति बदलिएको छ, जबकि पाकिस्तानको अर्थतन्त्र भारतको एक–दशमांशभन्दा पनि कम अवस्थामा छ ।

तर ट्रम्पको कश्मीर समस्याको समाधान खोज्ने प्रस्ताव र अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारत र पाकिस्तानबीच तटस्थ स्थानमा व्यापक वार्ताको घोषणा गरेपछि धेरै भारतीयहरू असन्तुष्ट भएका छन् ।

पाकिस्तानले ट्रम्पलाई निरन्तर धन्यवाद दिइरहेको छ भने भारतले युद्धविराममा तेस्रो पक्षको कुनै भूमिका स्वीकार गरेको छैन । भारत भन्छ–यो दुई पक्षबीचको सहमतिमा गरिएको हो ।

विश्लेषकहरू र भारतीय विपक्षी दलहरूले भारतले पाकिस्तानमा गत बुधबार मिसाइल प्रहार गरेर रणनीतिक उद्देश्य पुरा गर्‍यो कि गरेन भन्ने प्रश्न उठाइरहेका छन् । भारतले यो कारबाही गत महिना कश्मीरमा पर्यटकहरूमाथि भएको आक्रमणको बदला स्वरूप भएको बताएको थियो, जसमा २६ जनाको मृत्यु भएको थियो ।

पाकिस्तानको गहिराइसम्म मिसाइल प्रहार गरेर मोदीले आफ्ना पूर्ववर्तीहरूभन्दा धेरै जोखिम उठाउने क्षमता देखाए । तर अचानक युद्धविरामले उनलाई देशभित्र आलोचना झेल्न बाध्य बनाएको छ ।

मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टीका पूर्व सांसद स्वप्न दासगुप्ताले भने, ‘युद्धविराम भारतमा लोकप्रिय नबन्नुको एक कारण ट्रम्प अचानक कताबाट आइपुगे र आफ्नै निर्णय सुनाइदिए भन्ने हो ।’

मुख्य विपक्षी का्रंग्रेसले प्रतिक्रिया जनाउँदै वासिङ्टनबाट भएको युद्धविराम घोषणाबारे सरकारबाट स्पष्टीकरण आउनु पर्ने माग गरेको छ ।

युद्ध रोकिएको भए तापनि भारत–पाकिस्तान सम्बन्धमा अझै धेरै तनावका बुँदाहरू बाँकी छन् । जसले भारतको दृढता परीक्षण गर्नेछन् र कडा नीति अपनाउने प्रलोभन दिन सक्छन् ।

पाकिस्तानका लागि सबैभन्दा महत्वपूर्ण मुद्दा इन्डुस जल सन्धि हो, जसलाई भारतले गत महिना स्थगित गरेको थियो । यो सन्धि पाकिस्तानका थुप्रै खेतीयोग्य जमिन र जलविद्युत परियोजनाहरूका लागि जीवनरेखा हो ।

‘अमेरिकी प्रत्याभूतिको बिना पाकिस्तान युद्धविराममा सहमत हुने थिएन’। पूर्व विदेशमन्त्री तथा हाल पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जरदारीले भने ।