काठमाण्डु – चीन र पाकिस्तान मिलेर दक्षिण एसियामा एउटा नयाँ क्षेत्रीय संगठन निर्माण गर्ने तयारीमा छन्, जुन हाल निष्क्रिय बनेको सार्कको विकल्प बन्ने सम्भावना छ ।
विज्ञहरूका अनुसार यो भारतका लागि कूटनीतिक र रणनीतिक रूपमा गम्भीर चुनौती हुन सक्छ । विशेषतः जब भारतका छिमेकी देशहरू चीन–पाकिस्तान गठबन्धतर्फ झुकिरहेका देखिन्छन् ।
जसरी चीनले दक्षिण एसियामा आफ्नो प्रभुत्व विस्तार गरिरहेको छ, भारतका लागि थप नयाँ संकटहरू देखा पर्न थालेका छन् । ‘अपरेसन सिन्दूर’ को क्रममा चीनले पाकिस्तानलाई दिएको सहयोगलाई भारतीय सेनाका अधिकारीहरूले पनि ‘नोट’ गरेका छन् ।
सार्कका अन्य सदस्य राष्ट्रहरूको भारतसँग सम्बन्ध चिसिएको मुख्य कारण उनीहरूले चीनसँग सम्पर्क राखेका थिए भनेर होइन । वास्तवमा भारत आफैं केन्द्र शक्ति मान्न चाहन्थ्यो, जुन कुरा भारतका छिमेकी र सार्क सदस्य राष्ट्रहरूले स्वीकार्न सकेनन् ।
४ जुलाईमा भारतीय सेनाका उपप्रमुख लेफ्टिनेन्ट जनरल राहुल आर. सिंहले भनेका थिए–‘अपरेसन सिन्दूर’मा पाकिस्तान अग्रपंक्तिमा थियो र चीनले उसलाई हर सम्भव सहयोग पुर्याएको थियो ।
यही सन्दर्भमा अहिले दक्षिण एसियामा नयाँ क्षेत्रीय संगठनको स्थापनाबारे चर्चापनि बढेको छ । भारतीय पत्रिका द हिन्दुका अनुसार चीन र पाकिस्तान मिलेर यस्तो संगठन बनाउने तयारीमा छन् । जुन लगभग निष्क्रिय भइसकेको सार्कको विकल्पका रूपमा स्थान लिन सक्छ ।
परराष्ट्र मामिलका विशेषज्ञहरूका अनुसार यो प्रयास भारतका लागि कूटनीतिक मात्र नभई रणनीतिक रूपमा पनि चुनौतीपूर्ण हो ।
इस्लामाबाद र बेइजिङबीच यो प्रस्तावमा वार्ता अन्तिम चरणमा पुगेको छ । हालै चीनको कुनमिङ शहरमा पाकिस्तान, चीन र बङ्गलादेशबीच त्रिपक्षीय बैठक भएको थियो । बैठकको उद्देश्य दक्षिण एसियाली देशहरूलाई नयाँ संगठनमा सामेल हुन आह्वान गर्नु थियो ।
यद्यपि बङ्गलादेशले तत्काल कुनै गठबन्धनको सम्भावनालाई अस्वीकार गरेको छ । तर, विदेश मामिला सल्लाहकार एम. तौहीद हुसैनले बैठक गैर–राजनीतिक रहेको जनाउँदै कुनै नयाँ संगठन निर्माण नगरिएको जनाए ।

भारतकी दक्षिण एसिया मामिलाकी विज्ञ निरुपमा सुब्रमण्यम पनि उक्त प्रस्तावित संगठनको गम्भीरतामा सन्देह व्यक्त गर्छिन् ।
उनी भन्छिन्, ‘मलाई थाहा छैन कि यो कुनै गम्भीर प्रयास हो वा होइन । बङ्गलादेश धेरै उत्साहित देखिँदैन । यो प्रयास भारतबिना पनि क्षेत्रीय संगठन बन्न सक्छ र चीनको नेतृत्वमा पनि बनाउन सकिन्छ भन्ने सन्देश दिनका लागि मात्रै हो ।’
जानकारहरूका अनुसार यदि यस्तो खालको संगठन चीन र पाकिस्तान मिलेर बनाउँछन् भने तिनीहरूले भारतलाई जानाजानी बाहिर राख्न चाहेको बुझिन्छ ।
विगत एक दशकमा भारतले सार्कलाई सक्रिय बनाउने प्रयास गर्नुको सट्टा निष्क्रिय नै बनायो । नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि सार्कप्रति भारतको दृष्टिकोण नै नकारात्मक रहँदै आएको छ । भारत–पाकिस्तानको शत्रुताले पनि सार्कलाई निष्क्रिय बन्न मद्दत मिलेको छ ।
सुब्रमण्यम भन्छिन्, ‘भारत र पाकिस्तान कहिल्यै सार्कभित्र सहमतिमा पुग्न सकेनन् । जस्तै २००६ मा भएको सार्क मुक्त व्यापार क्षेत्र (साफ्टा)मा पाकिस्तानले भारतसँग व्यापार प्रतिबन्ध हटाउन आवश्यक कदम चाल्न अस्वीकार ग¥यो । यद्यपि भारत–पाकिस्तानबीच संवाद कहिल्यै पूर्ण रूपमा रोकिएको थिएन ।’
भारतका मुम्बईमा भएको आतंकवादी हमला पछि पनि सार्क चलेको थियो । तर जब २०१५ मा प्रधानमन्त्री मोदीको पाकिस्तानप्रतिको व्यक्तिगत पहल असफल भयो र तुरुन्तै पठानकोट हमला भयो, त्यसपछि मोदीले पाकिस्तानसँगको राजनीतिक रूपमा जोखिमपूर्ण ठान्न थाले । यही कारण २०१६ को इस्लामाबाद शिखर सम्मेलन रद्द भयो र त्यसपछि सार्क लगभग मृततुल्य अवस्थामा छ ।
सार्कका अन्य सदस्य राष्ट्रहरूको भारतसँग सम्बन्ध चिसिएको मुख्य कारण उनीहरूले चीनसँग सम्पर्क राखेका थिए भनेर होइन । वास्तवमा भारत आफैं केन्द्र शक्ति मान्न चाहन्थ्यो, जुन कुरा भारतका छिमेकी र सार्क सदस्य राष्ट्रहरूले स्वीकार्न सकेनन् ।
त्यसपछि बिमस्टेक र बीबीआइएन जस्ता समूहहरू सुरु भए, जसले पाकिस्तानलाई अलग गर् यो । तर ती समूहहरूमा बङ्गलादेश महत्त्वपूर्ण थियो । तर हालै बङ्गलादेशमा भएका राजनीतिक परिवर्तनले भारतसँग ‘ढाका कार्ड’ पनि छैन । यसरी हेर्दा भारत अहिले दक्षिण एसियामा अलग परिरहेको छ ।
भारत–पाकिस्तानको तनाव केवल सार्कमा सीमित छैन । शांघाई कोअपरेशन अर्गनाइजेशन (एससीओ)जस्ता मञ्चमा पनि दुश्मनीको छाया देखिन्छ ।
यदि चीन र पाकिस्तान मिलेर नयाँ संगठन बनाउँछन् र बङ्गलादेश, अफगानिस्तान, नेपाल र माल्दिभजस्ता देश सामेल भए भने भारतलाई गम्भीर चिन्ता हुनेछ । भूटान बाहेक शायद कुनै पनि दक्षिण एसियाली देश भारतको साथमा उभिने छैन ।
सुब्रमण्यमकाअनुसार, प्रस्तावित संगठन साँच्चिकै भू–राजनीतिक उद्देश्य बोकेको हो कि होइन, त्यसमा सामेल हुने देशहरूको संख्यामा निर्भर हुन्छ ।
के भारत एक्लिन्छ?
यदि नयाँ संगठन खडा हुन्छ भने भारत के दक्षिण एसियामा एक्लो हुनेछ ? जानकारहरूका अनुसार भारतको लागि स्थान पहिल्यै साँघुरो भइसकेको छ । किनभने भारतले आफैं सार्कलाई मर्न दियो । अब त्यो खाली ठाउँ चीन र पाकिस्तानले भर्न खोजेका छन् ।
चीनको आर्थिक प्रभाव दक्षिण एसियामा बढिसकेको छ । बङ्गलादेश, श्रीलंका, नेपाल सबैका लागि चीन प्रमुख व्यापारिक साझेदार बनिसकेको छ । र कूटनीति प्रायः आर्थिक सम्बन्धमार्फतै अघि बढ्छ ।
पाकिस्तान त धेरै समयदेखि चीनलाई सार्कमा ल्याउने कुरा गरिरहेको थियो, तर भारतले सधैं अस्वीकार ग¥यो । अब यदि सार्क समाप्त भइसकेको छ भने, चीन त्यसको विकल्प खडा गर्न खोज्नेछ ।
पछिल्लो एक–डेढ दशकमा भारतले अनेक विकल्प खोजेको छ । जस्तै बिमस्टेक जसमा बङ्गलादेश, भूटान, भारत, म्यानमार, नेपाल, श्रीलंका, थाईल्यान्ड छ तर पाकिस्तान छैन ।
विज्ञहरूले भारतलाई सार्क पुनर्जीवित गर्न गम्भीर प्रयास गर्नुपर्ने सुझाव दिन्छन् । पाकिस्तानसँग पनि भारतले कुनै न कुनै रूपको संवाद गर्नुपर्ने उनीहरूको धारणा छ । ताकि अर्को सार्क बैठकका समयमा प्रधानमन्त्री मोदी पाकिस्तानको यात्रा गर्न सकून् । साथै, भारतले आफ्ना अन्य सार्क छिमेकीहरूसँग पनि द्विपक्षीय सम्बन्ध सुधार गर्न पनि काम गर्नुपर्छ ।




प्रतिक्रिया