भारत-पाकिस्तान युद्ध : अमृतसर, पठानकोट र श्रीनगरमा एकपछि अर्को विस्फोट

भारत-पाकिस्तान युद्ध : अमृतसर, पठानकोट र श्रीनगरमा एकपछि अर्को विस्फोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पाकिस्तानी सेनाले भारतीय आक्रमणको विरुद्धमा आफ्नो प्रतिआक्रमण सुरु गरेको छ। पाकिस्तानी सञ्चारमाध्यमले सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै यसबारे जानकारी दिएका हुन्।

यो प्रतिकार भारतले पाकिस्तानी वायुसेनाका तीन प्रमुख हवाई अड्डाहरूलाई लक्षित गरेको केही समयपछि सुरु भएको हो।

पाकिस्तानी सेनाको अन्तर–सेवा जनसम्पर्क (आईएसपीआर)का महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले पाकिस्तान वायुसेना (पीएएफ)को नुर खान (चकलाला, रावलपिण्डी०, मुरिद चकवाल) र रफीकी (झाङ जिल्लाको शोरकोट) हवाई अड्डाहरूलाई निशाना बनाएको बताएका छन्।

उनले खुला आक्रामकता जारी राख्दै भारतले केही समय अघि आफ्ना लडाकु विमानहरूबाट हावाबाट सतहमा प्रहार गर्ने क्षेप्यास्त्रहरू प्रहार गरेको बताए ।

पाकिस्तानी सेनाले आफ्नो प्रतिकारलाई अपरेशन बुनयान–उल–मारसूसको नाम दिएको छ। यसले भारतभरका विभिन्न लक्ष्यहरूलाई निशाना बनाइरहेको छ। सुरक्षा स्रोतहरूका अनुसार भारतको ब्यासमा रहेको ब्रह्मोस क्षेप्यास्त्र भण्डारण स्थललाई पहिलो चरणमा नष्ट गरिएको छ।

आईएसपीआरले भारतीय आक्रमणलाई क्षेत्रीय शान्तिमा खतरा भएको भन्दै यसको जवाफ दिन पाकिस्तान पूर्णरूपमा तयार रहेको जनाएको छ। यो पछिल्लो घटनाक्रमले दक्षिण एसियामा तनावलाई थप बढाएको छ। दुवै देशका आणविक क्षमताका कारण स्थिति थप जटिल बन्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

भारतको पञ्जाबका धेरै सीमावर्ती सहरमा एकपछि अर्को विस्फोटका आवाज सुनिएका छन् ।

बीबीसी संवाददाताले आफू र साथी क्यामेराम्यान अन्तरिक्ष जैनले धेरै पटक विस्फोटका आवाज सुनेको र आकाशमा प्रकाश देखेको बताएका छन् ।

यद्यपि, अधिकारीहरूले भने यस घटनामा अहिलेसम्म आक्रमणमा कसैले पनि ज्यान गुमाएका छैनन् ।

यसैबीच, पुंछ नजिकैको सुरनकोटमा शुक्रबार राति र शनिबार बिहान भारी गोलाबारी भएको छ । जसमा एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।

जम्मूमा पनि विस्फोट भएको छ । त्यस क्षेत्रका मानिस घरमै छन्, तर सर्वत्र सन्नाटा छाएको छ । श्रीनगर र अवन्तीपुरामा धेरै विस्फोटका आवाज सुनिएका छन् । साथै, कश्मीरका धेरैजसो भागहरूमा बिजुली गएको छ ।

समाचार एजेन्सी पीटीआईले भारतीय सेना स्रोतलाई उद्धृत गर्दै जम्मू, साम्बा र पठानकोटमा ड्रोनहरू देखिएको बताएको छ ।
भारतीय रक्षा मन्त्रालयका अनुसार बारामुल्लादेखि भुजसम्म २६ ठाउँमा शंकास्पद ड्रोनहरू देखिएका छन् । यी शंकास्पद सशस्त्र ड्रोनले नागरिक र सैन्य लक्ष्यहरूलाई हानि पुर्याउन सक्ने भन्दै मन्त्रालयले सचेत गराएको छ ।

यी ड्रोनहरू बारामुल्ला, श्रीनगर, अवन्तिपोरा, नगरोटा, जम्मू, फिरोजपुर, पठानकोट, फाजिल्का, लालगढ जट्टा, जैसलमेर, बारमेर, भुज, कुआरबेट र लाखी नालाको अन्तर्राष्ट्रिय सीमा र पाकिस्तानसँगको नियन्त्रण रेखानजिक देखिएका छन् ।

फिरोजपुरको एक नागरिक क्षेत्रमा यस्तै ड्रोनले आक्रमण गरेको छ । यस आक्रमणमा धेरै स्थानीय बासिन्दा गम्भीर घाइते भएको बताइएको छ । घाइतेको संख्या भने खुलाइएको छैन । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र सुरक्षा बलहरूले उक्त क्षेत्रमा खोजी गरिरहेका छन् ।

रक्षा मन्त्रालयले सीमावर्ती क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरूलाई घरभित्रै रहन र स्थानीय रूपमा जारी गरिएका सुरक्षा निर्देशनहरू पालना गर्न सल्लाह दिएको छ । भारतीय सेनाले आत्तिनु नपर्ने तर सतर्कता आवश्यक रहेको बताएको छ ।