काठमाण्डु – आतंकवादविरुद्ध भारतको ‘अपरेशन सिन्दूर’ को जवाफमा पाकिस्तानले ‘अपरेशन-बुन्यान–अल–मार्सूस’ सुरु गरेको छ ।
पाकिस्तानी सेनाको मिडिया शाखा इण्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले गरेको घोषणा अनुसार भारतको आक्रमणको जवाफमा पाकिस्तानले आधिकारिक रूपमा ‘बुनयान–उल–मरसूस’ को नाममा जवाफी कारबाही सुरु गरेको हो ।
‘बुनयान-उल–मर्सूस’को अर्थ एक दृढ, एकीकृत मोर्चा भन्ने हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
यो अपरेशनको नाम कुरानबाट लिइएको हो । यसले राष्ट्रको सुरक्षा गर्न सेनाको एकता, शक्ति र अनुशासनमाथि जोड दिन्छ ।
इस्लामी सन्दर्भमा यसलाई एकता, अनुशासन र संकल्पको प्रतिकको रूपमा लिइन्छ ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आणविक हतियारबारे निर्णय गर्नका लागि देशको सर्वोच्च निकायको बैठक बोलाएका छन् ।
पाकिस्तानी सुरक्षा स्रोतका अनुसार पाकिस्तानले भारतको ब्यास क्षेत्रमा रहेको ब्रह्मोस भण्डारण स्थल ध्वस्त पारेको दाबी छ । पाकिस्तानले उधमपुरमा रहेको एयरबेस र पठानकोटमा रहेको एयरफिल्ड पनि ध्वस्त पारेको दाबी गरेको छ । भारतले पाकिस्तानमा आक्रमण गर्न प्रयोग गरेका सबै अड्डाहरूलाई निशाना बनाइरहेको इस्लामावादको दाबी छ ।
पाकिस्तानी सशस्त्र सेनाले ब्रिगेड मुख्यालय पनि ध्वस्त पारेको भनेको छ । उरीमा रहेको आपूर्ति डिपो पूर्ण रूपमा ध्वस्त भएको पाकिस्तान रेडियोले उल्लेख गरेको छ । साइबर आक्रमणका कारण भारतको ७० प्रतिशत बिजुली ग्रिड निष्क्रिय भएको दाबी गरिएको छ ।
पाकिस्तानी वायुसेनाको जेएफ–१७ थन्डर हाइपरसोनिक मिसाइलले आदमपुरमा भारतको एस–४०० वायु रक्षा प्रणाली ध्वस्त पारेको बताएको छ । एस–४०० प्रणालीको मूल्य लगभग १.५ अर्ब डलर छ । पाकिस्तानले भारत र भारत प्रशासित कश्मीरमा धेरै निशानाहरूमा प्रहार गरेको दाबी गरेको छ ।
यीमध्ये धेरैजसो स्थानहरू नयाँ दिल्ली र इस्लामाबादबीचको विवादित कश्मीर क्षेत्रलाई विभाजन गर्ने वास्तविक सीमा नजिक वा छेउमा छन् । भारतले पनि पाकिस्तानी आक्रमणको जवाफ दिइरहेको दाबी गरेको छ ।
यता, भारतको रक्षा मन्त्रालयले भारतमा बारामुलादेखि भुजसम्म २६ स्थानहरूमा शंकास्पद सशस्त्र ड्रोनहरू देखिएका बताएको छ । यी ड्रोनहरूले नागरिक तथा सैन्य संरचनाहरूमा क्षति पु¥याउन सक्ने सम्भावना पनि मन्त्रालयले औंल्याएको छ ।
यी ड्रोनहरू पाकिस्तानसँग सीमा जोडिएका अन्तर्राष्ट्रिय सिमाना र नियन्त्रण रेखा नजिकका विभिन्न स्थानहरूमा देखिएका हुन् ।
रक्षा मन्त्रालयले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई घरभित्रै बस्न र स्थानीय सुरक्षा निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ । सेनाले भनेको छ, ‘डराउनु पर्दैन, तर सतर्क रहनु आवश्यक छ।’
प्रतिक्रिया