काठमाण्डु – दक्षिण एशियाका दुई प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तान पूर्ण स्तरको सैन्य द्वन्द्वमा फस्नबाट फेरि एक पटक जोगिएका छन्।
यी दुईबीच युद्धविराम गराउन फेरि एक पटक संयुक्त राज्य अमेरिकाले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको देखिएको छ।
अब भारत-पाकिस्तानले आआफ्ना शिविरमा आफूले हात पारेको उपलब्धि र बेहोरेको हानिको लेखाजोखा गर्लान् नै। तर अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विश्वमा आफूलाई शान्तिस्थापकका रूपमा प्रस्तुत गर्नेछन्। अनि उनका विदेशमन्त्री मार्को रुबिओले भारत-पाकिस्तानबीचको युद्धविराम आफ्नो सबैभन्दा ठूलो कूटनीतिक सफलता भएको दाबी गर्न पाउने छन्।
पाकिस्तानी सेनाले पाकिस्तानी जनतालाई आफूले कसरी भारतको आक्रामकतालाई निस्तेज पार्न सम्भव भयो भनेर बताउन सक्छ। पूरै पाकिस्तानले सेनालाई समर्थन गरेका थियो। त्यसैले यो एक किसिमले पाकिस्तानको सेनाका लागि पनि विजय हो।
दुई वर्षअघि पाकिस्तानमा सत्ताच्युत प्रधानमन्त्री इमरान खानका समर्थकहरूले सेनाविरुद्ध शृङ्खलाबद्ध प्रदर्शन गरेका थिए।
पाकिस्तानसँग परमाणुअस्त्र भएपनि भारतले आफूले आतङ्ककारीहरूका संरचना भन्दै आएका पाकिस्तानस्थित संरचनाहरूमा धावा बोल्न नहिचकिचाएको दाबी फेरिपनि गर्न सक्छ।
दिल्लीले भारत विभाजित बनेको पुरानो प्रतिद्वन्द्वी पाकिस्तानको हवाई शक्ति उसले पहिले आकँलन गरेभन्दा बढी नै रहेको भन्ने अनुभव गरेको हुन सक्छ अनि नयाँ अस्त्रका लागि अर्बौँ रुपैयाँ खर्च गरेको भएपनि आफूले खोजे जसरी निर्णायक प्रहार गर्न नसकेको महसुस गरेको हुनुपर्छ।
यता, भारतले दुई देशबीच भएको युद्धविरामको सहमति पाकिस्तानले उलङ्घन गरेको आरोप लगाएको छ । भारतका विदेश सचिव विक्रम मिश्रीले गएराति विशेष प्रेस ब्रिफिङ गरी हिजो अपराह्न दुई देशबीच भएको सहमतिलाई पाकिस्तानले उलङ्घन गरेको प्रतिक्रिया दिनुभएको छ । पाकिस्तानको तर्फबाट सहमतिको उलङ्घन भएको र यो एकदमै निन्दनीय रहेको उनको भनाइ छ ।
विदेश सचिव मिश्रीले भारतीय सेनाले जवाफी कारबाही गर्नुका साथै सीमामा आक्रमणसँग जुधिरहेको बताए । भारत र पाकिस्तानबीच सहमति भएको घोषणा गरिएको केही घण्टापछि नै जम्मू-कश्मीरका मुख्यमन्त्री उमर अब्दूल्लाहले श्रीनगरमा विस्फोटका आवाजहरू सुनिएको बताएका थिए।
पाकिस्तानले जम्मू-कश्मीर, राजस्थान, पञ्जाब र गुजरातमा गोलाबारी र ड्रोन आक्रमण गरेको भारतको आरोप छ । तर भारतको पछिल्लो आरोपमा पाकिस्तानको टिप्पणी वा प्रतिक्रिया आइसकेको छैन ।
प्रतिक्रिया