भारतले सुरु गर्‍यो ‘अपरेशन सिन्दूर’ : पाकिस्तान प्रशासित कश्मीरका ९ स्थानमा आक्रमण, ३० जना मारिएको दाबी

भारतले सुरु गर्‍यो ‘अपरेशन सिन्दूर’ : पाकिस्तान प्रशासित कश्मीरका ९ स्थानमा आक्रमण, ३० जना मारिएको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतको कश्मीरको पहलगाम आतंकवादी आक्रमणको १५ दिनपमा भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा ‘अपरेशन सिन्दूर’ सुरु गरेको छ । जसमा ९ स्थानमा हवाई आक्रमण गरेको छ ।

यी आक्रमण पहलगाममा २२ अप्रिलमा भएको आतंकवादी आक्रमणको जवाफमा गरिएको हो । उक्त आक्रमणमा एक नेपालीसहित २८ पर्यटकको मृत्यु भएको थियो ।

बुधबार बिहान बहावलपुर, मुरिदके, कोटली, मुजफ्फराबादलगायत क्षेत्रमा भारतले भीषण आक्रमण गरेको हो । हवाइ आक्रमणमा जैश–ए–मोहम्मद र लश्कर–ए–तैयबाका मुख्यालय ध्वस्त पारिएको दाबी भारतले गरेको छ । यी तिनै स्थानहरू हुन् जहाँबाट भारतमा आतंकवादी आक्रमणको योजना बनाइएको थियो ।

पाकिस्तानले आम सर्वसाधारणलाई लक्षित गरेर आक्रमण गरिएको आरोप लगाएको छ । बहावलपुरमा ३० जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर अपरेशनको निगरानी गरेको जनाइएको छ ।

पाकिस्तानको इन्टर–सर्भिसेज पब्लिक रिलेसन्सका निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिएका छन् ।

पाकिस्तानले हमलामा ८ सर्वसाधारणको मृत्यु र ३५ जना घाइते भएको बताएको छ । साथै ५ वटा भारतीय लडाकु विमान खसालेको पाकिस्तानको दाबी छ । पाकिस्तानको पञ्जाब प्रान्तमा बुधबार विद्यालय बन्द गरिएको छ ।

भारतले मस्जिदहरूलाई निशाना बनाएको आरोप पाकिस्तानको छ । पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले भारतले सर्वसाधारणमाथि आक्रमण गरेको बताएका छन् । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले ‘निर्णायक जवाफ’ दिने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो घटनापछि शान्तिपूर्ण समाधानको आशा व्यक्त गरेका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि दुवै देशसँग सम्पर्कमा रहेको जनाएका छन् ।