भारत-पाकिस्तान युद्ध : के छ दुबै देशको दाबी, अन्तर्राष्ट्रिय समुदायले के भन्छ ?

भारत-पाकिस्तान युद्ध : के छ दुबै देशको दाबी, अन्तर्राष्ट्रिय समुदायले के भन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारत प्रशासित जम्मू कश्मीरको पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी हमलाको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीर (पिओके) मा ‘अपरेशन सिन्दूर’ नाम दिएर मंगलबार मध्यरातमा आक्रमण गरेको छ ।

९ आतंकवादी अड्डाहरूमाथि हवाई हमला गरेको दाबी भारतको छ । भारतले बहावलपुर, मुरिदके, कोटली, मुजफ्फराबाद, अहमदपुर शार्किया, फैसलाबाद, गुलपुर, भिम्बर र सियालकोट नजिकका शिविरहरूलाई निशाना बनाइएको भनेको छ ।

यो हमला पहलगाममा भएको आतंकवादी हमलाको जवाफमा गरिएको हो, जसमा एक नेपालीसहित २८ पर्यटकको मृत्यु भएको थियो । हमलामा मारिने अधिकांश हिन्दु पर्यटक थिए, जसलाई धर्म सोधेर गोली हानिएको थियो । भारतले हमलाको लागि पाकिस्तानलाई जिम्मेवार ठहराएर यो कारबाही गरेको हो । अर्कोतिर पाकिस्तानले आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गर्दै आएको छ ।

भारतको दाबी

भारतीय सञ्चारमाध्यमले २४ क्षेप्यास्त्र प्रहार गरेर जैश–ए–मोहम्मद र लश्कर–ए–तैयबाका मुख्यालय ध्वस्त पारिएको उल्लेख गरेका छन् । न्यूज१८ ले हमलामा १७ आतंकवादी मारिएको र ६० घाइते भएको जनाएको छ । भारतीय सेना र वायुसेनाले संयुक्त रूपमा सटीक हतियार प्रयोग गरी आतंकवादी लुक्ने ठाउँहरूलाई मात्र निशाना बनाएको दाबी गरेको छ ।

भारतीय रक्षा मन्त्रालयले कुनै पनि पाकिस्तानी सैन्य अड्डालाई लक्षित नगरेको भनेको छ । हमला आतंकवादी अड्डाहरूमाथि लक्षित रहेको भारतको दाबी छ । यसबिच भारतले पाकिस्तानी सेनाले जम्मू–कश्मीरको नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सीमामा गोलीबारी गर्दा आफ्ना तीन जना आम नागरिकको मृत्यु भएको जनाएको छ ।

पाकिस्तानको बहावलपुरमा ३० जना मारिएको पनि भारतको दाबी छ । प्रधानमन्त्री नरेन्द्र मोदीले युद्धकक्षबाट हमलाको निगरानी गरेका थिए । भारतीय सेनाले बुधबार बिहान १० बजे पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराउने भएको छ । हवाई आक्रमणपछि जम्मू, साम्बा, कठुआ, राजौरी र पुछमा स्कूल, कलेज र शैक्षिक संस्थाहरू बन्द गरिएका छन् ।

पाकिस्तानको दाबी

पाकिस्तानी सेनाले पनि भारतले छ क्षेत्रमा २४ क्षेप्यास्त्र प्रहार गरेको स्वीकार गरेको छ । उक्त आक्रमणमा ८ सर्वसाधारणको मृत्यु हुनुका साथै ३५ जना घाइते भएको दाबी उसको छ । पाकिस्तानको मुजफ्फराबाद नजिकै एक बच्चासहित आठ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले नागरिक क्षेत्र र मस्जिदहरूलाई निशाना बनाइएको आरोप लगाएका छन् । साथै ५ भारतीय लडाकु विमान खसालेको र केही भारतीय सैनिकलाई हिरासतमा लिइएको दाबी पाकिस्तानको छ ।
पाकिस्तानको सरकारी टेलिभिजन पिटिभी न्यूजले दुई भारतीय विमान खसालेको जानकारी दिएको छ । भारतीय चेकपोस्टहरू ध्वस्त पारेको दाबी गरिएको छ ।

रायटर्स र द गार्जियनका अनुसार नियन्त्रण रेखामा भारी गोलीबारी भइरहेको छ । पाकिस्तानको पञ्जाब प्रान्तमा विद्यालयहरू बन्द छन् । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले हमलालाई कायरतापूर्ण भन्दै ‘निर्णायक जवाफ’ दिने चेतावनी पनि दिएका छन् ।

अन्तर्राष्ट्रिय प्रतिक्रिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनालाई ‘लज्जास्पद’ भन्दै शान्तिपूर्ण समाधानको आशा व्यक्त गरेका छन् । त्यस्तै, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारत र पाकिस्तानसँग सम्पर्कमा रहेको जानकारी दिएका छन् ।

अमेरिका, संयुक्त राष्ट्र संघ, चीन, रुस र साउदी अरबसहितका देशले दुवै (भारत–पाकिस्तान) लाई संयम रहन आग्रह गरेका छन् ।