काठमाण्डु- भारतले पाकिस्तानमा आक्रमण गरेपछि धेरै हवाइ उडानहरू प्रभावित भएका छन् । विमान कम्पनीहरूले ट्राभल एड्भाइजरी निकालेका छन् । भारतको एअर इन्डिया, स्पाइसजेट र इन्डिगोले सूचना निकालेर धेरै क्षेत्रहरूमा उडानहरू प्रभावित हुने जानकारी दिएका हुन् ।
वर्तमान अवस्थालाई ध्यानमा राख्दै, एअर इन्डियाले जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ र राजकोट जाने र जाने सबै उडानहरू रद्द गरेको जनाएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
स्पाइसजेटले धर्मशाला, लेह, जम्मू, श्रीनगर र अमृतसरलगायत उत्तर भारतका केही भागमा अर्को सूचना नभएसम्म उडान बन्द गरिएको जानकारी दिएको छ । इन्डिगोले पनि आफ्ना उडानहरु प्रभावित भएको भन्दै यात्रुहरुलाई स्थिति हेरेर मात्र यात्रा गर्न आग्रह गरेको छ । तीन वटै एअरलाइन्सले यात्रुहरूलाई आफ्नो उडानको स्थिति जाँच गरेर मात्र विमानस्थल पुग्न सल्लाह दिएका छन् ।
यसैबीच पाकिस्तानी अधिकारीहरूले पनि लाहोर र कराँचीका प्रमुख शहरहरूलाई समेट्ने हवाई क्षेत्रहरू बन्द गर्ने घोषणा गरेका छन् । इस्लामाबाद अन्तर्राष्ट्रिय विमानस्थलसहित धेरै प्रमुख विमानस्थलहरू यो क्षेत्रमा पर्छन् ।
यस्तै अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले उडानहरू स्थगित गरेका छन् । पाकिस्तानी हवाई क्षेत्र बन्द भएपछि कतार एअरवेजले पाकिस्तानका लागि उडानहरू अस्थायी रूपमा स्थगित गरेको छ ।
परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको र आफ्ना यात्रु र चालक दलको सुरक्षालाई प्राथमिकतामा राख्ने भन्दै उडान बन्द गरेको कतार एअरवेजले जनाएको छ ।
यस्तै एअर फ्रान्स एअरलाइन्सले अर्को सूचना नभएसम्मका लागि पाकिस्तान जाने उडानहरू स्थगित गरेको र केही गन्तव्यहरूको लागि आफ्नो उडान योजनाहरू परिवर्तन गरिरहेको बताएको छ ।
त्यस्तै जर्मन एअरलाइन्स लुफ्थान्साले पनि अर्को सूचना नभएसम्म पाकिस्तानी हवाई क्षेत्रमा प्रवेश नगर्ने बताएको छ ।
प्रतिक्रिया