भारत-पाकिस्तान युद्ध : यस्तो छ अमेरिका र चीनको प्रतिक्रिया

भारत-पाकिस्तान युद्ध : यस्तो छ अमेरिका र चीनको प्रतिक्रिया

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतले पाकिस्तान प्रशासित कश्मीरमा गरेको आक्रमणलाई संयुक्त राष्ट्रसंघसहित अमेरिकार र चीनले औपचारिक रूपमा प्रतिक्रिया जनाएका छन् ।

राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले ‘नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सिमानाका पारिपट्टिका भारतीय सैन्य कारबाहीहरूप्रति महसचिवले गहिरो चिन्तित व्यक्त गरेको बताएका छन् ।

उनले भारत र पाकिस्तान दुवैलाई आफ्ना सैन्य शक्तिलाई अधिकतम् संयम राख्न आग्रह गरेका छन् ।

दुजारिकले भने, ‘भारत र पाकिस्तानबीच कुनै पनि प्रकारको सैन्य भिडन्त संसारका लागि असह्य हुनेछ ।’
यसअघि, ५ मेमा एन्टोनियो गुटेरेसले सामाजिक सञ्जाल एक्समार्फत एक पोस्ट गर्दै भारत र पाकिस्तानबीचको तनाव पछिल्ला केही वर्षमा सबैभन्दा गहिरो रहेको उल्लेख गरेका थिए ।

उनले २२ अप्रिलमा भारतको पहलगाममा भएको आतंकवादी हमलाको कडा निन्दा पनि गरेका थिए ।
यस्तै, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि भारत–पाकिस्तान युद्धबारे प्रतिक्रिया जनाएका छन् । भारतको आक्रमणप्रति

प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘हामी यस स्थितिमाथि निगरानी गरिरहेका छौं ।’
रुबियोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘म भारत र पाकिस्तानबीचको अवस्थालाई गम्भीरतापूर्वक हेरिरहेको छु ।’

उनले अगाडि थपेका छन्, ‘म राष्ट्रपति डोनाल्ड ट्रम्पको यो तनाव चाँडै अन्त्य होस् र भारत तथा पाकिस्तान दुवै मुलुकका नेतृत्वसँग वार्तामार्फत् शान्तिपूर्ण समाधान खोज्ने प्रयास जारी रहनेछ भन्ने टिप्पणीसँग सहमत छु ।’

यस्तै, पाकिस्तानमा भारतको सैन्य कारबाही दुर्भाग्यपूर्ण रहेको चीनको प्रतिक्रिया छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पाकिस्तानमाथि भारतले गरेको हवाई आक्रमणप्रति चिन्ता व्यक्त गर्दै दुर्भाग्यपूर्ण भनेका छन् ।

उनले भने, ‘भारतको सैन्य कारबाही दुर्भाग्यपूर्ण छ । हामी अहिलेको परिस्थितिबारे चिन्तित छौँ । भारत र पाकिस्तान दुवै एक अर्काका छिमेकी हुन् र चीनका पनि छिमेकी हुन् ।’

चीनले आतङ्कवादका सबै प्रकारको विरोध गर्ने पनि जनाएको छ । ‘हामी दुवै पक्षलाई अपिल गर्छौँ । उनीहरूले शान्ति र स्थिरतालाई प्राथमिकता दिनुपर्छ । दुवैले संयम अपनाउनुपर्छ । यस्तो दुर्भाग्यपूर्ण कदम उठाउनु उचित होइन, जसले परिस्थितिलाई अझ जटिल बनाइदिन्छ ।’