काठमाण्डु- पाकिस्तानविरुद्ध भारतको अपरेशन सिन्दूर नामक सैन्य कारबाहीमा २६ सर्वसाधारणको मृत्यु भएको पाकिस्तानले जनाएको छ । पाकिस्तानको सेनाले विभिन्न ९ स्थानमा भारतले हवाई आक्रमण गरेको पनि जनाएको छ ।
पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्भिसेज पब्लिक रिलेशन्स (आईएसपीआर) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतीय हमलामा भएको क्षतिबारे जानकारी दिएका छन्।
पाकिस्तानी अखबार डनका अनुसार पत्रकार सम्मेलनमा भारतले ६ वटा क्षेत्रमा गरेको आक्रमणमा २६ सर्वसाधारणको मृत्यु भएको र ४६ जना घाइते भएको बताएका हुन्। उनले भारतले गरेको यो आक्रमणका कारण ठूलो संख्यामा सर्वसाधारण प्रभावित भएको पनि जानकारी दिए। चौधरीका अनुसार आक्रमणबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ।
यो कारबाही अप्रिल २२ मा भारत–नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो। सो आक्रमणमा एक नेपालीसहित २८ पर्यटकको मृत्यु भएको थियो। भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाउँदै आएको थियो। तर पाकिस्तानले आफ्नो संलग्नता नरहेको भन्दै निष्पक्ष अनुसन्धानको माग गर्दै आएको छ।
यता भारतीय आक्रमणको जवाफमा पाकिस्तानी सेनाले ५ भारतीय लडाकु विमान र १ ड्रोन खसालेको दाबी गरेको छ।
चौधरीले पत्रकार सम्मेलनमा भने, ‘शत्रुको आक्रामकताको जवाफमा पाकिस्तानी सेनाले तीन राफेल, एक मिग–२९, एक एसयू विमान र एक हेरोन ड्रोन खसालेको छ।’ पाकिस्तानी वायुसेनाले रक्षा प्रणाली सक्रिय गरी भारतीय विमानलाई हवाई क्षेत्रमा प्रवेश गर्न रोके उनले जनाए ।
जनरल चौधरीले भने, ‘पाकिस्तानी वायुसेनाले यी जेटहरू खसाल्यो जब उनीहरूले हतियार छोडेपछि मात्र पाकिस्तानमाथि आक्रमण गरे। पाकिस्तानी सेनाले उनीहरूका १० भन्दा बढी विमानहरूमाथि गोली हान्न सक्थ्यो तर हामीले संयम अपनायौं।
प्रतिक्रिया