भारतको ओडिसामा रेल दुर्घटनाः मृत्यु हुनेको संख्या २८८ पुग्यो (अपडेट)


नयाँ दिल्ली – भारतको ओडिशा राज्यमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या बढिरहेको छ। पछिल्लो अपडेट अनुसार मृतकको संख्या कम्तीमा २८८ जना पुगेको बीबीसीले जनाएको छ।

ओडिशाको बालासोरनजिक भएको उक्त दुर्घटनामा परी नौ सय जनाभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जनाएको छ। मृतकको संख्या बढ्न सक्ने भारतीय अधिकारीहरुले बताएका छन्। भारतमा यो शताब्दीकै सबैभन्दा खराब रेल दुर्घटना मानिएको छ।

घटना शुक्रबार साँझ भएको थियो। घाइतेको उद्धारका लागि दुई सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको ओडिशाको प्रमुख सचिव प्रदीप जेनाले बताएका छन्।

यससँगै रेल मन्त्री अश्विनी वैष्णवले ओडिशामा भएको रेल दुर्घटनामा क्षतिपूर्ति दिने घोषणा गरेका छन्। वैष्णवले ट्वीट गर्दै भनेका छन, ‘ओडिशामा भएको यो दुर्भाग्यपूर्ण रेल दुर्घटनामा ज्यान गुमाएका प्रत्येक व्यक्तिको परिवारलाई १० लाख रुपैयाँ, गम्भीर घाइतेलाई २ लाख रुपैयाँ र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपुर्ति दिईनेछ।’ यससँगै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मृतकका आफन्तलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५०-५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले रेल दुर्घटनापछि राज्य दिवस मनाउने कार्यक्रम रद्द गर्दै एक दिने राजकीय शोकको घोषणा गरेका छन्। रेल दुर्घटनाको विषयमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी आज ओडिशाको भ्रमण गर्न लागेकी छन् । रेलवेको खड़गपुर डिभिजनका डीआरएमका अनुसार रेल दुर्घटनापछि कम्तिमा १३ वटा ट्रेन या त डाइभर्ट गरिएको छ वा रद्द गरिएको छ।

शनिबार बिहानको लागि तय गरिएको मुम्बई–गोवा वन्दे भारत एक्सप्रेसको उद्घाटन समारोह ओडिशामा रेल दुर्घटनाका कारण रद्द गरिएको छ। प्रधानमन्त्री मोदीले यो ट्रेनलाई झण्डा हल्याएर उदघाटन गर्दै थिए । कार्यक्रम आज बिहान साढे १० बजेका लागि तय भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement