ट्रम्पको धम्कीपछि पनि रुसी तेल किन्न जारी राख्ने भारतको संकेत

ट्रम्पको धम्कीपछि पनि रुसी तेल किन्न जारी राख्ने भारतको संकेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीका बाबजुद भारतले रुसबाट तेल आयात जारी राख्ने संकेत दिएको छ।

शुक्रबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भारतको ऊर्जा नीति बजारको उपलब्धता र विश्व परिस्थितिका आधारमा निर्देशित हुने स्पष्ट पारे।

उनले भारत–रुस सम्बन्धलाई “स्थिर र समयद्वारा परीक्षित” भन्दै यसलाई तेस्रो देशको दृष्टिकोणबाट मूल्यांकन गर्न नहुने टिप्पणी गरे।

यो अभिव्यक्ति राष्ट्रपति ट्रम्पले रुसी तेल खरिदकै कारण भारतमाथि २५ प्रतिशत भन्सार शुल्क र थप आयात कर लगाउने धम्की दिएपछि आएको हो। ट्रम्पले युक्रेन युद्धविराममा असफल भएको भन्दै रुसप्रति असन्तुष्टि जनाउँदै थप आर्थिक प्रतिबन्धको चेतावनी पनि दिएका छन् ।

भारतले सन् २०२२ को जनवरीमा प्रतिदिन ६८ हजार ब्यारेल रुसी कच्चा तेल आयात गरिरहेको थियो, जुन बढ्दै २०२३ को मेसम्ममा २१ लाख ५० हजार ब्यारेल पुगेको थियो। डाटा एनालिटिक्स कम्पनी केप्लरका अनुसार केही अवधिमा भारतको कुल आयातको ४० प्रतिशतसम्म आपूर्ति रुसबाट भएको थियो, जसले रुसलाई भारतको प्रमुख तेल आपूर्तिकर्ता बनाएको हो।

भारतको दैनिक तेल खपत करिब ५५ लाख ब्यारेल छ, जसको ८८ प्रतिशत आयातमार्फत पूरा गरिन्छ। विगतमा भारतको मुख्य आपूर्तिकर्ता मध्यपूर्व रहँदै आएको भए पनि, सन् २०२२ मा युक्रेनमाथि रुसको आक्रमणपछि भारतले छुटमा रुसी तेल किन्न थालेको हो।

पश्चिमी मुलुकहरूले रुसमाथि प्रतिबन्ध लगाइरहँदा भारत, चीनपछि विश्वको तेस्रो ठूलो तेल आयातकर्ता राष्ट्र, आफ्ना हितका आधारमा वैकल्पिक आपूर्ति स्रोत रोज्न तत्पर देखिएको छ।