काठमाडौंमा नयाँ भारतीय राजदूतको छुट्टै रंग–ढंग ! नेपाली भूमि फर्काउलान् ?

काठमाडौंमा नयाँ भारतीय राजदूतको छुट्टै रंग–ढंग ! नेपाली भूमि फर्काउलान् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र तथा नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले काठमाडौं पुगेर कार्यभार सम्हालेका छन् ।

राजदूत क्वात्राको कार्यशैलीमा छुट्टै रंग–ढंग देखिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्न जाँदा बग्गी प्रयोग गरेकोदेखि लिएर एकैदिन धेरै सरकारी पदाधिकारीलाई भेटघाट गरेको सन्दर्भ चर्चाको विषय बनेको छ ।

बिहीवार राष्ट्रपति भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका राजदूत क्वात्राले २–३ दिनकै अवधिमा अधिकांश नेता र मन्त्रीलाई भेटिसकेका छन् । उनको तीब्रता विशेष देखिएको छ । दूतावासको समय व्यवस्थापन, राजदूतको ऊर्जा र सक्रियताले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विश्वास गरिएको छ ।

काठमाडौं बुझेका राजदूत

क्वात्राको सक्रियता मात्रै होइन, अनुभव पनि विशेष नै छ । उनी काठमाडौंमा नयाँ होइनन् । उनले सन् २००६ देखि २०१० सम्म काठमाडौंस्थित सार्क सचिवालयमा भारत सरकारको प्रतिनिधित्व गर्ने निर्देशक भएर काम गरेका थिए । उनले नेपालको उत्तरी छिमेकी चीन र विश्वशक्ति राष्ट्र अमेरिकामा समेत काम गरेको अनुभव बटुलेका छन् ।

अघिल्लो पटक काठमाडौंमा खटिनुअघि क्वात्रा सन् २००३ देखि चीनको बेइजिङस्थित भारतीय दूतावासको उपप्रमुख थिए । काठमाडौंबाट फर्केपछि सन् २०१० देखि क्वात्रा अमेरिकास्थित भारतीय दूतावासमा कार्यरत रहे । अमेरिकाबाट फर्केपछि क्वात्राले लामो समय भारतमै रहेर विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा काम गरेका छन् ।

भारतको परराष्ट्र सेवामा सन् १९८८ मा प्रवेश गरेपछि उनले ३२ वर्ष सेवा गरेका छन् । उनी प्रधानमन्त्री मोदीसँगै विदेशमन्त्री डा. एस जयशंकरका विश्वासपात्र मानिन्छन् । राजदूत मञ्जीभसिंह पुरीको कार्यकाल पूरा भएपछि क्वात्रा यस्तो बेला नेपालमा राजदूत भएर आएका छन्, जतिबेला नेपालमा सीमा समस्याको विवाद चर्काे रुपमा उठेको छ । भारतमा नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री चुनिएका बेला सीमा विवादले विवादित बनेको सम्बन्धलाई सुमधुर बनाउने चुनौती क्वात्रासामु रहेको छ ।

क्वात्राको तीब्र सक्रियता

राष्ट्रपति भण्डारीसामु बिहीबार ओहोदाको प्रमाणपत्र बुझाएलगत्तै राजदूत क्वात्रा तीब्रताका साथ सक्रिय देखिए । उनी बिहीवार नै उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेटेर प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेश गरे । सिंहदरबारमा उनले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेटवार्ता गरे ।

राजदूत क्वात्रा शुक्रबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता, विदेश विभाग प्रमुख तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्न कोटेश्वरस्थित उनकै निवासमै पुगे । नेता नेपालको जन्मदिन पारेर बिहानै निवास पुगेका क्वात्राले शुभकामना दिन समेत भ्याए ।

त्यसपछि शुक्रबारै राजदूत क्वात्राले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेनासँग भेट गरे । क्वात्राको तीब्रतालाई कूटनीतिक क्षेत्रकै छुट्टै ढंग मानिएको छ ।

किनारा लागेको भारतको छवि सुधार्ने चुनौती

कुनै बेला नेपाली राजनीतिमा भारतको इच्छा विपरीत ‘पात’ पनि नहल्लिने विश्लेषण हुने गर्थ्यो । तर पछिल्लो समय भारत अनौपचारिक चलखेलमा किनारा लागेको जस्तो देखिन्छ भने नयाँ नक्सा जारी गर्दा नेपालको लिपुलेक र कालापानी क्षेत्र आफ्नो नक्सामा पारेपछि जनस्तरमा समेत भारतको छवि बिग्रिएको छ ।

नेपालमा भएका ठूल्ठूला राजनीतिक परिवर्तनमा भारतको हात रहेको भन्ने गरिन्छ । राजनीतिक अस्थिरतामा खेल्ने गरेको आरोप लाग्ने भारत पछिल्लो समय ठूला राजनीतिक विवाद र प्रकरणमा जोडिएको छैन । प्रतिनिधिसभा निर्वाचनपछि नेकपा गठबन्धनले स्पष्ट बहुमत ल्याएपछि भारत किनारा लागेको देखिएको छ ।

भारतले आफ्ना सीमित स्वार्थ त कूटनीतिक स्तरबाटै पूरा गरी नै रहेको छ तर ठूला राजनीतिक चलखेलमा भारत जोडिएको छैन । भारतले कूटनीतिस्तरबाट सीमा नाकामा गर्न थालिएको तरकारी र फलफूलको विषादी परीक्षण रोक्न र तराईमा भइरहेको मुस्लिम सम्मेलनमा नेपाल र भारतबाहेक तेस्रो मुलुकका मुस्लिमलाई निषेध गर्न सफल भएको छ ।

पछिल्लो समय नेपालमा चिनियाँ सक्रियता बढेसँगै चीन र अमेरिकाको प्रभाव प्रत्यक्ष देखिन थालेको छ । अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौताले नेकपाभित्र नै विवाद ल्याएको र चिनियाँ प्रभाव समेत नेकपाभित्र स्पष्ट रुपमा देखिने गरेको छ । भारत कुनै पनि राजनीतिक विवाद र बहसमा जोडिएको देखिएको छैन ।

भारतको नक्सामा नेपाली भूमि राखिएको विवाद अझै टुंगिएको छैन । नयाँ राजदूत क्वात्रासामु नेपाली मतलाई सुन्ने र तथ्य प्रमाणका आधारमा भारत नक्सा संशोधन गर्न पहल गर्ने जिम्मेवारी छ, यो जिम्मेवारी पूरा गर्दा नेपालीमाझ भारतको छवि सुध्रिनसक्छ । नक्सा संशोधनको अन्तिम निर्णय भारत सरकारले गर्ने भएपनि कूटनीति पहल गर्ने प्रथम जिम्मेवारी र सक्रियता क्वात्राको काँधमा आएको छ ।

सीमा विवादको विषय टार्ने, छलफल नै नगर्ने, भारतीय स्वार्थलाई मात्रै हेर्ने र नेपाली भावनालाई नजरअन्दाज गर्ने व्यवहारले भारतको छवि झनै खराब हुनसक्छ । सीमा विवादको विषयलाई राजदूत क्वात्राले कसरी अगाडि बढाउँछन्, यसकै आधारमा नेपालमा उनको कार्यकालको सफलता मापन हुनेछ ।