भारतले नेशनल डिफेन्स कलेजमा नेपालसहित छिमेकी देशका सेनालाई कोटा बढायो


एजेन्सी – भारतले नेशनल डिफेन्स कलेज (एनडीसी) मा नेपालसहित छिमेकी मुलुकका सैनिक अधिकृतहरुका लागि कोटा बढाउने निर्णय गरेको छ । भारतले २० ले बढाएर सन् २०२२ सम्ममा काेटाको संख्या १२० पुर्याउने घोषणा गरेको हो ।

भारतीय रक्षा सचिव अजय कुमारले नेपाल, म्यानमार र बंगलादेश जस्ता छिमेकी मुलुकहरुमा कोटा बढाउने निर्णय भएको जानकारी दिए ।

त्यस्तै उनले उज्वेकिस्तान, ताजिकिस्तान, फिलिपिन्स, इन्डोनेसिया र माल्दिभ्सका लागि पनि नयाँ सिट संख्या थप्ने तयारी भएको जानकारी दिए ।

‘यो धेरै समयदेखि छिमेकी राष्ट्रहरुको मागलाई ध्यानमा राखेर हामीले काम गरिरहेका छौं’, उनले भने, ‘उक्त आवश्यकता पूरा गर्नका लागि एनडिसीमा पूर्वाधार बृद्धि गर्ने काम भइरहेको छ ।’

सन् १९६१ बाट सुरु भएको यो कोर्शका लागि २१ जना सहभागी थिए । हाल प्रत्येक वर्ष एक सय जनालाई सो कोर्स प्रदान गरिन्छ जसमध्ये २५ कोटा विदेशी विद्यार्थीहरुलाई पनि छुट्याइएको छ ।

नयाँ दिल्लीस्थित एनडीसीले मुख्य रूपले भारतीय सशस्त्र बल र सिभिल सेवाहरूका अधिकारीहरूका लागि रणनीतिक पाठ्यक्रमहरू प्रदान गर्दै आएको छ ।

‘उच्च दिशा र युद्ध को रणनीति को व्यापक पक्ष’ मा वरिष्ठ सेवा र निजामती सेवा अधिकारीहरुका लागि निर्देशन प्रदान गर्न सन् १९५९ मा नेशनल डिफेन्स कलेज स्थापना भएको थियो । भारतीय अधिकारीहरूले बेलायत, अमेरिका र अन्य देशहरूमा पनि यस्ता पाठ्यक्रमहरूमा भाग लिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement