काठमाण्डु– भारतिय सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे नेपाल भ्रमणमा आउने भएका छन् । भारतले नेपालको भुमि समेटेर नयां नक्सा जारी गरेसंगै नेपालले पनि कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समेटेर नक्सा जारी गरेयता दुवै देशबीच सम्बन्ध बिग्रिएको छ ।
त्यसयता दुवै देशबीच उच्च तहका भ्रमण हुन नसकिरहेको बेला भारतका २८ औं सेनाध्यक्ष नरवाणे कार्तिक १८ मा नेपाल भ्रमणमा आउन लागेका हुन् । नरवाणे सेनाअध्यक्ष भएदेखि नेपाल भ्रमणमा आएका छैनन् ।
तीन दिने नेपाल भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ प्रधानसेनापतिको उपाधी ग्रहण गर्ने कार्यक्रम छ । त्यसका साथै प्रधानमन्त्री केपी शर्मा ओली,रक्षामन्त्री ईश्वर पोखरेल र आफ्ना नेपाली समकक्षी पूर्णचन्द्र थापासंग समेत उनले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । नरवाणे मुक्तिनाथ भ्रमणमा जाने कार्यक्रम समेत रहेको सैनिक स्रोतले जानकारी दिएको छ ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौड्यालले भारतिय सेनाअध्यक्षको भ्रमणको तयारी सुरु भएको जानकारी दिए । ‘यसअघि नै उहांको भ्रमणको तयारी भएको थियो । तर कोरोना भाइरसको महामहारीको कारण गर्दा केही ढिला हुन गयो,अहिले फेरी प्रक्रिया सुरु भएको छ । दुवै पक्षको छलफलपछि उपयुक्त समयमा उहांको भ्रमण हुन्छ । ’ सैनिक प्रवक्ता पौड्यालले काठमाडण्डुपाटीसंग भने ।
भारतिय सेनाअध्यक्षको भ्रमण यसअघि तय भएपनि उनकै विवादस्पद अभिव्यक्तिले नेपाल भ्रमण रोकिएको थियो । नेपालले नयां नक्सा जारी गरेपछि उनले चीनसंग जोडेर विवादस्पद अभिव्यक्ति दिएका थिए । जसको नेपालमा चर्को विरोध समेत भएको थियो । उनको अभिव्यक्तिपछि नेपाल सरकारले उनलाई औपचारिक निमन्त्रणा दिइसक्दा पनि मिति भने तय गरेको थिएन् ।
हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतिय सेनाको मानार्थ उपाधि ग्रहण गरिसकेका छन् । तर, भारतिय सेनाअध्यक्षले पदभार ग्रहण गरेको एक वर्षभन्दा बढी भइसक्दा पनि अहिलेसम्म नेपाली सेनाको मानार्थको उपाधी ग्रहण गर्न पाएका छैनन् । उनको भ्रमणको यसअघि सवै तयारी भएपनि कोरोना भाइरसको महामारी र दुवै देशको बिग्रदो सम्बन्धले भ्रमणमा ढिलाई भएको थियो ।
सेनाध्यक्ष नरवाणेको नेपाल भ्रमणले भारतसंग बिग्रदो कूटनीतिक सम्बन्ध समुधुर हुने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया