अन्तरिक्षमा राखिएको भूउपग्रह खसाल्न भारत,सफल पाकिस्तानले अब के गर्ला?

अन्तरिक्षमा राखिएको भूउपग्रह खसाल्न भारत,सफल पाकिस्तानले अब के गर्ला?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतले बुधबार पृथ्वीको भूउपग्रहीय तल्लो कक्षमा राखिएका भूउपग्रहलाई क्षेप्यास्त्र मार्फत सफलतापूर्वक खसाल्ने चौथो देश बनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका थिए । भारतको उक्त सफलतासँगै अब अन्तरिक्ष विज्ञानका क्षेत्रमा भारत महाशक्ति राष्ट्रको श्रेणीमा उक्लिएको पनि प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेका थिए । उक्त धोषणासँगै पाकिस्तान लगायत अन्य छिमेकी मुलुकका भूउपग्रहहरूका लागि भारत खतरा बन्दै गएको मानिएको छ।

मोदीले सम्बोधनका क्रममा उक्त परीक्षण कुनै पनि किसिमको अन्तर्रािट्रय नियम नतोडिकनै सम्पन्न गरिएको घोषणा गरेका थिए। पाकिस्तानले पनि उसको अन्तरिक्षसँग सम्बन्धित कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि नै रहेको बताउँदै आएको छ।

विश्लेषकहरूले भने उक्त परीक्षण मार्फत भारतले आफूहरूसँग युद्धका लागि थप एउटा हतियार रहेको र युद्ध अन्तरिक्षसम्म पुगिसकेको छ भन्ने सङ्केत दिएको बताउँछन्। स्पेस एन्ड अपर एटमोस्फिएर रिसर्च कमिसनका अनुसार पाकिस्तानले सन् २०११ देखि २०४० बीचमा पाँचवटा भूउपग्रह अन्तरिक्षमा पठाउने योजना रहेको बताएको छ

भारतको तुलनामा पाकिस्तानको अन्तरिक्षसँग सम्बन्धित कार्यक्रम सीमित छ। तर भारतको घोषणासँगै यस विषयमा पाकिस्तानले सोच्नुपर्ने अवस्था सृजना भएको छ। आर्थिकरूपमा सबल नरहेको पाकिस्तानले यो नयाँ प्रतिस्पर्धाका लागि आवश्यक रकम जुटाउन सक्ला? इस्लामाबादले आफू अन्तरिक्षसँग सम्बन्धित हतियारको दौडकोविरुद्धमा रहेको बताउँदै यस्तो दौडमा सामेल हुने वा नहुने भन्ने विषय भने कठिन प्रश्न रहेको टिप्पणी गरेको छ। पाकिस्तानका एकजना विश्लेषकले अन्तरिक्ष मानवजातिको साझा सम्पत्ति भएका कारण त्यहाँ हुनसक्ने सैन्य क्रियाकलापबाट जोगिनुपर्ने सबैजनाको जिम्मेवारी रहेको बताएका छन्।

भारतले भूउपग्रहमा क्षेप्यास्त्रको सफल परीक्षण सम्पन्न गरेसँगै पाकिस्तानका प्रवक्ताले यस्ता घटनाबारे चासो देखाउँदै आएका मुलुकहरू एकजुट भएर अन्तरिक्षमा हुनसक्ने सैन्य खतरालाई कसरी हेर्ने भन्ने विषयमा अभियान चलाउनका लागि अमेरिका जाने विश्वास व्यक्त गरेका छन्।

अन्तरिक्षमा हुने सैन्य तयारीले जमिनमा रहेको सैन्य बललाई समेत फाइदा र्पुयाउन सक्ने हुँदा यसले सैन्य सन्तुलन बिगार्न सक्ने विश्लेषकहरूको भनाइ छ। यस्तो अवस्थामा पाकिस्तानलाई पछि हट्न स्वीकार्य नहुन सक्छ। इस्लामाबादका सुरक्षाकर्मीहरूका अनुसार भारतले अन्तरिक्षमा गरेको सैन्य तयारी पाकिस्तान भन्दा चीनतर्फ लक्षित छ।

भारतीय वैज्ञानिकहरुका अनुसार क्षतिग्रस्त भूउपग्रह पृथ्वीबाट करिब ३०० किलोमिटर माथि पृथ्वीको तल्लो कक्षमा थियो । प्रधानमन्त्री मोदीले यो अभियान शान्तिपूर्ण प्रयोगका लागि भएको र युद्ध भड्काउने उद्देश्यबाट प्रेरित नभएको बताउनुभएको छ । यो कुनै मुलुकप्रति लक्षित पनि नभएको उनले स्पष्ट पारे ।

भारतीय लोकसभाको चुनाव आउनै लागेको अवस्थामा यस्तो घोषणा गरिएको छ । प्रधानमन्त्री मोदी दोस्रो कार्यकालका लागि चुनावी मैदानमा छन् । भारतमा यही अप्रिल ११ देखि मतदानका कार्यक्रमहरु शुरु हुँदैछन् र यो करिब छ हप्ता चल्नेछ ।