भारतीयद्वारा सशस्त्र प्रहरीको चेकप्वाइन्टमा ढुंगामुढा प्रहार


काठमाडौं – भारतीय नागरिकले बाराको कबहीगोठस्थित नेपाल–भारत सीमानामा  सशस्त्र प्रहरी बलकाे चेकप्वाइन्टमा ढुंगामुढा प्रहार गरेका छन् । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकले हातपात र ढुंगामुढा गरेपछि सशस्त्र प्रहरीले हवाई फायर समेत गरेको छ ।

बाराको कबहीगोठस्थित नेपाल–भारत सीमानामा भारतबाट दुइटा गाडीसहित नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकले हातपात र ढुंगामुढा गरेपछि सशस्त्र प्रहरीले हवाई फायर गरी भीडलाई तितरबितर पारेको हो ।

गाडी प्रवेश गर्न नपाएपछि करिब डेढ सयको संख्यामा भारतीय नागरिक सशस्त्र प्रहरीको चेक प्वाइन्टमा ढुंगामुढा गर्न आएका थिए । त्यही क्रममा सशस्त्रले हवाई फायर गरी भीडलाई भारततफै फर्काएको हो ।

लकडाउनयता मात्रै भारतीय नागरिकले नेपाल प्रवेश गर्न खोज्दा ११ चेक प्वाइन्टमा आक्रमण गरेका छन् । चैत १८ यता सीमानाकाबाट आवतजावत गर्न माग गर्दै सप्तरी, सिरहा, झापा, मोरङ, सर्लाही, नवलपरासी, कपिलवस्तुलगायत जिल्लामा सीमामा खटिएका प्रहरी र सशस्त्र प्रहरीमाथि सांघातिक आक्रमण र दुर्व्यवहार गरिएको छ । आउजाउमा रोक लगाउँदा भारतीय भूमिबाट आएको भीडले प्रहरीका हतियार नै खोस्नेसम्मका गतिविधि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement