भदौ १ गते भारतीय विदेश सचिव मिस्री नेपाल आउँदै

भदौ १ गते भारतीय विदेश सचिव मिस्री नेपाल आउँदै

प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणको आधार तयार हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीका लागि भारतले उच्च कूटनीतिक प्रतिनिधिलाई नेपाल पठाउने भएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीका सन्दर्भमा भारतका विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमणका लागि भदौ १ गते (अगस्ट १७) मा काठमाण्डु आउँदैछन् ।

यो मिस्रीको एक वर्षभित्र नेपालको दोस्रो नेपाल हुनेछ । यसअघि उनी अगस्ट २०२३मा नेपालको परिचयात्मक भ्रमण गरेका थिए ।

परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा भारतीय विदेश सचिव मिस्री नेपाल आउन लागेका हुन् । उनको भ्रमणले प्रधानमन्त्रीको आसन्न भ्रमणका लागि आधार र वातावरण तयार गर्ने परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

गत वर्ष असारमा प्रधानमन्त्री बनेदेखि नै भारत भ्रमण गर्न इच्छुक ओलीले भदौ ३१ गते (सेप्टेम्बर १६) भारतको दुई दिने औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ । तर प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक घोषणा भने भएको छैन ।

भ्रमणका क्रममा मिस्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट ओलीलाई औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन् ।

मिस्रीको भ्रमणका क्रममा दुई देशबीच प्रधानमन्त्रीको भारत भ्रमणका सम्भावित कार्यसूची, समझदारी, सम्झौता र हस्ताक्षर गर्न सकिने दस्तावेजहरूबारे छलफल हुनेछ । यसमा प्रधानमन्त्री ओलीको दिल्लीबाहिरको भ्रमणको योजना पनि समावेश हुनेछ ।

भ्रमणका क्रममा मिस्रीले विदेश सचिव राईका अतिरिक्त प्रधानमन्त्री ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा तथा अन्य नेताहरूसँग पनि भेटघाट गर्नेछन् ।

अहिलेसम्मको कार्यतालिकाअनुसार प्रधानमन्त्री ओली सेप्टेम्बर १६ मा नयाँ दिल्ली प्रस्थान गर्ने र सेप्टेम्बर १७ मा भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । सोही दिन उनी स्वदेश फर्कने कार्यक्रम छ ।

प्रधामनन्त्री ओलीले समकक्षी मोदीसँग भेटवार्ता गरेकै दिन संयोगवश मोदीको जन्मदिन पनि परेको छ । यसअघि ओलीले न्युयोर्क र बैंककमा भारतीय प्रधानमन्त्री मोदीसँग भेटघाट गरेका थिए ।

२०२४ सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको महासभाको ७९औं सत्रमा साइडलाइनमा ओली–मोदी भेट भएको थियो । यस्तै, गत वैशाखमा बैंककमा सम्पन्न बिमस्टेक शिखर सम्मेलनको साइडलाइनमा पनि ओली–मोदीबीच भेटवार्ता भएको थियो ।