काठमाडौं -बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेक सम्मेलनमा सहभागी हुन नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि भारतीय सुरक्षाकर्मी काठमाडौं आइपुगेको छ ।
भारतीय वायु सेवाको विमानमार्फत मोदी चढ्ने ३ वटा बुलेट प्रुफ कार सहित १३ सदस्यीय कमान्डो टोली आज काठमाडौं आएको हो । नेपाली सेनासँगको सहकार्यमा स्पेशल प्रोटेक्सन ग्रूप एसपीजीका सदस्यले भारतीय प्रधानमन्त्री मोदीलाई सुरक्षा दिनेछन् । नेपाल आएका सुरक्षाकर्मीले गृहमन्त्रालयको अनुमतिमा आधुनिक र शक्तिशाली हतियार समेत ल्याएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद र श्रीलंकाका राष्ट्रपति मैत्रीपला सिरिसेनालाई सबैभन्दा बढी सुरक्षा खतरा छ ।
आगामी बिहीबार र शुक्रबार हुने सम्मेलनलाई सुरक्षित बनाउन सरकारले चार वटै सुरक्षा निकायलाई परिचालन गरेको छ । बिमस्टेक अवधि भर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, र राष्ट्रिय अनुसन्धान विभागका २० हजार बढी सुरक्षाकर्मी परिचालन हुने केन्द्रीय सुरक्षा समितिले जनाएको छ ।




प्रतिक्रिया