लद्दाख झडपमा २० सैनिकको मृत्यु भएपछि भारतले सीमावर्ती क्षेत्रमा सैनिक संख्या बढाउँदै

लद्दाख झडपमा २० सैनिकको मृत्यु भएपछि भारतले सीमावर्ती क्षेत्रमा सैनिक संख्या बढाउँदै


एजेन्सी-  लद्दाखको गलवान घांटीमा चिनियां सेनासंगको झड्पमा २० भारतिय सैनिकको मृत्यु भएपछि भारतले सीमा क्षेत्रमा सेनाको संख्या थपेको छ ।

भारतले सीमावर्ती क्षेत्रमा सैनिक संख्या बढाउँदै सैन्य विमानहरुलाई तयारी अवस्थामा राखेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।भारतको स्थल सेनाको थप टुकडी चीनसँगको सीमा क्षेत्रमा लगिएको छ । अरुणाञ्चल, उत्तराखण्ड, हिमाञ्चल प्रदेश र लद्दाखमा पनि थप सैनिक लगिएको छ ।

भारतीय हवाई फोर्स पनि आधार क्षेत्रमा बढाइएको छ । सिक्किम, आसाम र अरुणाञ्चलमा त्यस्ता फोर्सको संख्या वृद्धि गरिएको बताइएको छ । भारतीय हवाई सेनाका सेनापति आरकेएस भादुरियाले श्रीनगर र लेहको दुई दिने भ्रमण समेत गरिसकेका बताइएको छ ।

भादुरियाको भ्रमणलगत्तै भारतले सीमावर्ती क्षेत्रमा हुने सम्भावित भिडन्तलाई मध्यनजर गर्दै युद्धक विमान तयारी अवस्थामा राखेको बताइएको छ । भारतको नौसैनिक जहाजलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइसकिएको टाइम्स अफ इन्डियाले लेखेको छ ।

हिन्द महासागरमा चीनको नौसैनिक जहाजले नियमित उपस्थिति जनाइरहेकोमा भारतको नौसैनिक जहाज पनि तयारी अवस्थामा राखिएको उल्लेख छ । चीनले गलवान घांटी आफ्नो भुभाग भित्र पर्ने दावी गरेको छ । चिनियां विदेश मन्त्रालयले शुक्रवार सांझ आफ्नो वेभसाइटमा एक प्रेस नोट जारी गर्दै गलवान घांटी वास्तविक नियन्त्रण रेखाको चीनको क्षेत्रभित्र पर्ने दावी गरेको हो ।

भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ। तर धेरैपछि सैनिकको मृत्यु हुनेगरी झड्प भएको हो। दुई देशबीच सन् १९६२ मा युद्ध भएको थियो। त्यसमा भारत नराम्ररी पराजित भएको थियो।