भारतीय एसएसबीको हेपाहा प्रवृति : नेपाली भूमिमै प्रवेश गरेर ड्रोन उडाइयो

भारतीय एसएसबीको हेपाहा प्रवृति : नेपाली भूमिमै प्रवेश गरेर ड्रोन उडाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतले पश्चिम नवलपरासीको सुस्तामा नेपाली भूमिमै प्रवेश गरेर ड्रोन उडाएको छ । बिनाअनुमति अर्को देशको एयर स्पेसमा पसेर हेलिकोप्टर, ड्रोन वा अरू कुनै हवाई साधन उडाउन पाइँदैन । तर त्यसलाई बेवास्ता गर्दै भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले आइतबार दिउँसो नेपालको ‘एयर स्पेस’ भित्र प्रवेश गरेर ड्रोन उडाएको हो ।

एसएसबीले नवलपरासी (बर्दघाट पश्चिम) मा पर्ने सुस्ता गाउँपालिका–५ स्थित गण्डक ब्यारेज क्षेत्रको नेपाली भूभागमाथिको आकाशमै प्रवेश गरेर ड्रोन उडाएर तस्बिर र भिडिओहरु लिएपछि स्थानीय प्रशासनले आपत्ति जनाएको छ ।

त्यहाँका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले भारतीय सुरक्षाकर्मीले नेपाली आकाशमा बिना अनुमति ड्रोन उडाएको जानकारी आफूलाई प्राप्त भएको बताए ।

उनले एसएसबीका जवान नेपालको भूभागमा प्रवेश गरेर ड्रोन उडाएको विषयमा भारतीय समकक्षी महाराजगन्जका ‘डिस्ट्रिक मजिस्ट्रेटसँग कुरा गर्ने प्रयास गरिरहेकाे बताए ।  गण्डक बाँधको एक नम्बर ठोक्करबाट नजिकै रहेको सिमलको रूखबाट उत्तर हुँदै आइतबार एसएसबीको फौज नेपाल पसेर ड्रोन उडाएको स्थानीयले बताएका छन् । त्यो सिमलको रूखलाई नेपालले अन्तर्राष्ट्रिय सीमा मान्दै आएको छ ।

प्रजिअ मिश्रले यस विषयमा गृह मन्त्रालयलाई पनि जानकारी गराइएको बताए । यता गृह मन्त्रालयले पनि नेपाली भूमिमा प्रवेश गरेर भारतीय पक्षले ड्रोन उडाएको घटनामा चासो व्यक्त गरेको छ ।

मन्त्रालयलका प्रवक्ता फणीन्द्रमणि पोखरेलले यसबारे भारतीय समकक्षीसँग कुरा गर्न र सत्यतथ्य बुझेर मन्त्रालयमा जानकारी गराउन जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई निर्देशन दिइएको जानकारी दिए । यसअघि पनि दार्चुला सदरमुकाम खलंगास्थित नेपाली सेनाको ब्यारेकमाथिबाट भारतले हेलिकोप्टर उडाएको थियो ।

गएको साउन १५ गते एसएसबीका जबानले तुइनको डोरी छिनाइदिँदा दार्चुलाको मालघाटस्थित महाकाली नदीमा बगेर बेपत्ता भएका नेपाली युवा जयसिंह धामीको खोजीका लागि नेपाली सुरक्षाकर्मीले नदीमाथि ड्रोन उडाउन अनुमति माग्दासमेत भारतले दिएको थिएन ।

त्यतिमात्र हैन भारतले नेपाली भूमिमा बिना अनुमति तारन्तार  हेलिकोप्टर समेत उडाएकाे थियाे । हेलिकोप्टर तारन्तार ओहोरदोहोर गर्न थालेपछि त्यसप्रति आपत्ति जनाउँदै भदौ २० मा परराष्ट्र मन्त्रालयले भारतलाई ‘कूटनीतिक नोट’ पठाएको थियो । तर भारतले त्यसको अहिलेसम्म जवाफ फर्काएको छैन । त्यस घटनाको दुई महिनापछि नवलपरासीको सुस्तामा पसेर पुनः एसएसबीले ड्रोनबाट सीमा निरीक्षण गरेको हो ।