संस्कृति नै रहेन भने देश रहँदैन : उपसभामुख राना

संस्कृति नै रहेन भने देश रहँदैन : उपसभामुख राना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपसभामुख इन्दिरा रानाले देशको अस्तित्वसँग भाषा र संस्कृति जोडिएको धारणा राखेकी छन् ।

नागरिक समाजको १८औं वार्षिकोत्सवको अवसरमा बिहीबार भएको कार्यक्रममा बोल्दै उपसभामुख रानाले संस्कृति नरहे देश नै नरहने धारणा राख्दै संस्कृति संरक्षणमा जोड दिइन् ।

‘कुनै पनि देशको अस्तित्व भाषा र संस्कृतिसँग जोडिएको हुन्छ,’ उनले भनिन्, ‘भाषा, संस्कृति नै संरक्षण भएन भने देशको अस्तित्व नै रहँदैन, सबैले संस्कृति संरक्षणका लागि आफ्नो ठाउँबाट प्रयास गर्नुपर्छ ।’

उनले स्वदेशमा मात्रै नभई विश्वका धेरै मुलुकमा रहेका नेपालीहरूले पनि आफ्नो भाषा र संस्कृतिको संरक्षणका लागि सामूहिक प्रयास गरिरहेको भन्दै यसलाई कायम राख्न आग्रह गरिन् । देश र भाषा संस्कृतिको प्रवर्द्धन गर्न प्रि–स्कूलबाट नै आमा, देश र देशप्रतिको दायित्वबारे बुझाउने प्रयास गर्नुपर्ने कुरामा उनले जोड दिइन् ।

विद्यालयबाट नै देश र भाषा तथा संस्कृतिबारे बुझाउन सक्दा सधैं राष्ट्रियताप्रति गहिरो माया र दायित्व बुझाउन सकिने उनले बताइन् ।

उपसभामुख रानाले नेपाली सधैं शान्तिको पक्षमा रहेका भन्दै नागरिक समाज र सबै पक्षले शान्तिको महत्त्व बुझाउन भूमिका खेल्नुपर्ने कुरामा पनि जोड दिइन् । हिंसाको विरोध र शान्तिको पक्षमा हामीले विश्वव्यापीमा रूपमा दिँदै आएको सन्देशलाई कायम राख्नुपर्छ भन्दै उनले नेपाली हामी शान्तिप्रिय छौं भन्ने भावना र सन्देश सबैले दिनुपर्ने बताइन् ।

शान्तिप्रिय भएका कारण नै नेपालले शान्ति स्थापना गर्नका लागि शान्ति सेना पठाउने गरेको उदाहरण उनले दिइन् ।

कार्यक्रममा नागरिक जीवनका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई उपसभामुख रानाले सम्मान पनि गरेकी थिइन् ।