काठमाण्डु– उपसभामुख इन्दिरा राना अमेरिका भ्रमणमा छिन्। राना अमेरिकामै रहेका बेला नेपालमा उनलाई पदबाट हटाउने तयारी भइरहेको छ।
नेपाली कांग्रेस र नेकपा (एमाले) ले रानालाई पदमुक्त गर्नका लागि हस्ताक्षर संकलन सुरु गरेका छन्।
रानाको सचिवालयका अनुसार उनी गत साउन ३० गते व्यक्तिगत भ्रमणका लागि अमेरिका गएकी हुन्। उनको यही भदौ १३ गते स्वदेश फर्कने कार्यक्रम छ।
यस्तैमा, रास्वपा पार्टीका शीर्ष नेताहरू पनि अनौपचारिक छलफलमा जुटिरहेका छन्।
रानामगरमाथि “पदअनुकूल आचरण नगरेको” आरोप लगाउँदै संविधानको धारा ९१ अनुसार पदमुक्त गर्ने तयारी दुई दलले अघि बढाएका हुन्।
गत वर्ष पनि दुई दलले रानालाई पदमुक्त गर्ने तयारी गरेका थिए। तर आवश्यक दुई–तिहाइ समर्थन नपुग्ने र राजनीतिक असर पर्न सक्ने देखिएपछि त्यसबेला पहल स्थगित गरिएको थियो।
हाल प्रतिनिधिसभामा कांग्रेसका ८८ र सभामुखसहित एमालेका ७८ सांसद् छन्। कांग्रेस र एमालेलाई उपसभामुख हटाउन थप १७ जना सांसदको समर्थन आवश्यक पर्छ।
उपसभामुख रानाले आफूसहित पाँच जनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन लेखेको पत्र पदअनुकूल नभएको भन्दै नैतिक प्रश्न उठाइँदैछ। यही कारण देखाउँदै सत्ता गठबन्धनले उनलाई हटाउने प्रस्ताव लैजाने तयारी गरेको हो।




प्रतिक्रिया