प्रतिनिधिसभा उपसभामुख रानाद्वारा राजीनामा

प्रतिनिधिसभा उपसभामुख रानाद्वारा राजीनामा


काठमाण्डु – प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानाले पदावधि बाँकी छँदै आईतबार पदबाट राजीनामा दिएकी छन् ।

आगामी निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म पदमा बहाल रहने संवैधानिक व्यवस्था भए पनि उनले राजीनामा दिएकी हुन् ।

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूची बुझाउने समय आईतबार र सोमबार तोकिएको छ ।

संघीय संसद् सचिवालयका अनुसार नेपालको संविधानको धारा ९१ को उपदफा ६ (क) मा प्रतिनिधिसभा विघटन भएको अवस्थामा सभामुख र उपसभामुख अर्को निर्वाचनका लागि उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म पदमा बहाल रहने व्यवस्था छ । संवैधानिक प्रावधान र विगतको अभ्यासलाई आधार मान्दै सभामुख घिमिरेले माघ ५ गतेसम्म कार्यभार सम्हाल्ने तयारी गरेका छन् ।

राना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद निर्वाचित भएर उपसभामुख बनेकी थिइन् ।