काठमाण्डु– बाजुराको मार्तडी–कोल्टी सडक खण्डको निर्माण अलपत्र पारेर आलोचित भएका ठेकेदार इन्द्र बहादुर बानियाँ आज बागमती प्रदेशको मुख्यमन्त्री बन्न लागेका छन् ।
नेपाली कांग्रेसका नेता बानियाँको स्वामित्वमा रहेको पिएस बानियाँ निर्माण सेवाले यो सडक विस्तारको जिम्मा पाएको भए पनि लामो समयदेखि काम अधुरो राखिएको छ ।
साउन १४ गते कांग्रेस संसदीय दलको नेतामा २२ मतसहित विजयी भएका बानियाँलाई पार्टी सभापति शेरबहादुर देउवाको समर्थन छ । देउवाले वर्तमान मुख्यमन्त्री बहादुर सिंह लामालाई मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए । लामाले आइतबार राजीनामा दिएपछि दलका नेता बनेका बानियाँ आज मुख्यमन्त्री पदमा नियुक्त हुँदैछन् ।
सडक अलपत्र, जनता हैरान
बाजुरा जिल्लाको ४१ किलोमिटर लामो मार्तडी–कोल्टी सडक खण्ड बहुवर्षीय योजना अन्तर्गतको मुख्य परियोजना हो । यसको २६ किलोमिटर खण्डको जिम्मा पिएस बानियाँ निर्माण सेवालाई दिइएको थियो । २०७७ साल असारमा ५० करोड १७ लाख रुपैयाँमा सम्झौता भएको भए पनि कम्पनीले हालसम्म मात्र डेढ करोड रुपैयाँ बराबरको काम गरेको छ ।
पुर्वाधार विकास कार्यालय अछामका अनुसार, सम्झौताअनुसार ३ वर्षभित्र काम सक्नुपर्ने थियो, तर समयमै काम नसकिएपछि म्याद थपिए पनि प्रगति न्यून छ । हालसम्म ५० प्रतिशत मात्रै काम भएको कार्यालयको भनाइ छ । ठेकेदारको लापरबाहीका कारण बाँकी रकम झण्डै १३ करोड ५० लाख रुपैयाँ फिर्ता हुने प्रक्रियामा छ ।
हिउँदमा धुलो, बर्षातमा हिलो
स्थानीय बासिन्दाका अनुसार यस सडकखण्डमा यात्रा गर्ने यात्रुले हिउँदमा धुलो र वर्षातमा हिलोको सामना गर्नु पर्ने बाध्यता रहेको छ ।
वर्षातमा यो सडक खण्ड पूर्ण रुपमा बन्द हुने गर्छ । ४ महिना यातायात सेवा बन्द हुँदा पैदल यात्रा गर्न समेत कठिन हुने अवस्था छ । बाटो बन्द हुँदा स्वास्थ्य, शिक्षा, खाद्यान्न आपूर्ति लगायतका आधारभूत सेवा प्रभावित हुँदै आएका छन् । राज्य संयन्त्रको निरीक्षण र निगरानीको अभावमा ठेकेदारले मनपरी गरिरहेको आरोप स्थानीयले लगाएका छन् ।
दिगो समाधानको माग
स्थानीयबासीहरूले यो समस्या समाधान गर्न पटक–पटक आवाज उठाउँदै आएका छन् । तर राजनीतिक नेतृत्व र सम्बन्धित निकायहरूको गम्भीरता अभावले दीर्घकालीन समाधान हुन नसकेको गुनासो उनीहरूको छ ।
बानियाँको राजनीतिक यात्रा
बानियाँ २०४४ सालदेखि राजनीतिमा सक्रिय छन् । उनी नेपाल विद्यार्थी सङ्घ, तरुण दल, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यको समेत अनुभव हासिल गर्दै २०७३ सालमा कांग्रेस मकवानपुरका सभापति भएका थिए ।
५२ वर्षीय बानियाँले २०७० सालको संविधानसभा निर्वाचनमा संविधानसभा सदस्य विजयी भएदेखि निरन्तर सांसद रहेका छन् ।
उनले २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र गृह राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । कांग्रेस नेता विमलेन्द्र निधि गृह मन्त्री हुँदा राज्यमन्त्री भएका थिए ।
बानियाँले २०७४ सालमा सर्वसम्मत रूपमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता चयन भई जिम्मेवारी पाएका थिए भने २०७९ पुस १३ मा भएको उक्त प्रतिस्पर्धामा तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामासँग पराजित भएका थिए ।




प्रतिक्रिया