काठमाण्डु– बागमती प्रदेश सरकारको प्रमुखमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । बानियाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार दिउँसो मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
बानियाँ नेपाली कांग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्रि बनेका हुन् ।
प्रदेशसभामा ११० सदस्य रहेका छन् ।
साउन १४ गते कांग्रेस संसदीय दलको नेतामा २२ मतसहित विजयी भएका बानियाँलाई पार्टी सभापति शेरबहादुर देउवाको समर्थन छ । देउवाले वर्तमान मुख्यमन्त्री बहादुर सिंह लामालाई मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए । लामाले आइतबार राजीनामा दिएपछि दलका नेता बनेका बानियाँ आज मुख्यमन्त्री पदमा नियुक्त भएका हुन् ।
याे पनि पढ्नुहाेस् : सडक अलपत्र पार्ने ठेकेदारलाई पुरस्कार ‘मुख्यमन्त्री’ पद
बानियाँ बागमतीको छैठौं मुख्यमन्त्री बनेका छन् । डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा बागमती प्रदेशको मुख्यमन्त्री बनिसकेका छन् ।
बानियाँ २०४४ सालदेखि राजनीतिमा सक्रिय छन् । उनी नेपाल विद्यार्थी सङ्घ, तरुण दल, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यको समेत अनुभव हासिल गर्दै २०७३ सालमा कांग्रेस मकवानपुरका सभापति भएका थिए ।
५२ वर्षीय बानियाँले २०७० सालको संविधानसभा निर्वाचनमा संविधानसभा सदस्य विजयी भएदेखि निरन्तर सांसद रहेका छन् ।
उनले २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र गृह राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । कांग्रेस नेता विमलेन्द्र निधि गृह मन्त्री हुँदा राज्यमन्त्री भएका थिए ।
बानियाँले २०७४ सालमा सर्वसम्मत रूपमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता चयन भई जिम्मेवारी पाएका थिए भने २०७९ पुस १३ मा भएको उक्त प्रतिस्पर्धामा तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामासँग पराजित भएका थिए ।




प्रतिक्रिया