काठमाण्डु – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपालको संविधानका विषयमा गहन छलफल आवश्यक रहेको औंल्याएका छन् ।
उनले हालकै संविधानबाट देश र जनताको पक्षमा काम गर्नुपर्ने बताए ।
आईतबार आयोजित संघीय लोकतान्त्रिक गणतन्त्र: चुनौती र अवसर विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले संविधानमा कमी–कमजोरी हुनसक्ने भन्दै संविधान संशोधन लगायतका विषयमा गहन छलफल गर्नुपर्ने बताए ।
‘संविधानको लामो अभ्यास गर्दै जाँदा यहाँभित्र पनि कमी–कमजोरी छ कि यो संविधान पनि संशोधन गर्नुपर्छ कि शासकीय स्वरूप, निर्वाचन प्रणाली विभिन्न कुराहरू उठेका छन् । त्यसकारण यी विषयमा र संघीयताको बारेमा अन्तरसंवाद गरेर मुलुकलाई निकास दिनुपर्छ । साथै अब आउने निर्वाचनमा हालका सबै विषयमा खुलेर मनमा कुण्ठा नराखिकन देश र जनताको पक्षमा काम गर्न चाहन्छौं,’ उनले भने ।
जनताको अवस्था परिवर्तन गर्न विभिन्न आन्दोलन भए पनि व्यवस्था मात्र परिवर्तन भएको उनले बताए । उनले नेपालको संविधानअनुसार संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था विश्वभरकै उत्तम भएको समेत बताए ।
उनले भने, ‘अवस्था परिवर्तन गर्न विभिन्न आन्दोलन भए तर जतनाको अवस्था परिवर्तन नभएको व्यवस्था मात्र परिवर्तन भयो । यो अवस्था परिवर्तन गर्न नेतृत्वभित्र मन, वचन, कर्म शुद्ध भएर जनताको सोझै चिताएर निष्ठावान भएर शपथ खाए जसरी काम गर्नुपर्छ, संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थामा प्रतिनिधि पात्र परिवर्तित हुन्छन् । यो व्यवस्थाभित्र चित्त बुझेन भने मन लागेको व्यक्ति, दल बदल्न सकिन्छ योभन्दा उत्तम व्यवस्था अरु छैन ।’
हालको संविधानले सबै धर्म, संस्कृति, सस्कार र सबै वर्ग, समुदायलाई समेटेको उनको भनाइ छ ।




प्रतिक्रिया