काठमाण्डु – काठमाण्डुका वसन्तपुर दरबार क्षेत्रस्थित हनुमानढोकामा इन्द्रध्वज ठड्याइ इन्द्रजात्राको औपचारिक सुरुवात भएको छ । इन्द्रध्वज बिहीबार बिहान १० बजेर ३१ मिनेटको साइतमा ठड्याइएको हो। बिहीबार भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिंगोलाई इन्द्रध्वजोत्थान पनि भनिन्छ । लिंगोको फेदमा भैरवको पूजा गरिन्छ ।
भाद्र शुक्ल द्वादशीका दिन लिङ्गो ठड्याएर जात्रा सुरु गर्ने प्रचलन छ । त्यसपछि विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी ८ दिनसम्म मनाउने प्रचलन छ ।
शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।
इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ ।
इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।
नेवारी समुदायले मनाउने यो पर्व काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा धुमधामका साथ मनाइन्छ ।











प्रतिक्रिया